विपद् व्यवस्थापनमा एकीकृत योजना बनाउन सेनाको सुझाव
काठमाडौं : नेपाली सेनाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार एकीकृत योजनासहित अघि बढ्नुपर्ने सुझाव दिएको छ । विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणको नेतृत्व सम्बन्धित जिल्लाले नै लिनुपर्ने सेनाको धारणा छ ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो सुझाव दिएका हुन् ।
उनले भोटेकोशी बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि सरकारको बृहत् र समन्वयात्मक योजना आवश्यक रहेको बताए ।
उनका अनुसार विपद्पछि उद्धारमा मात्रै केन्द्रित नभई पुनःस्थापना र पुनर्निर्माणलाई पनि योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ । यसका लागि सम्बन्धित जिल्लाले मुख्य जिम्मेवारी लिएर काम गर्नुपर्ने उनको सुझाव थियो ।
भोटेकोशी बाढीका कारण धेरै सडक क्षतिग्रस्त भएकाले पुनर्निर्माण गर्दा प्राथमिकतामा रहेका सडकलाई पहिले ध्यान दिनुपर्ने उनले बताए । त्यसैगरी हिमताल फुट्ने उच्च जोखिममा रहेका हिमनदी तथा हिमतालबाट हुन सक्ने सम्भावित क्षतिलाई समेत आकलन गरी विपद् प्रतिकार्यको परिमार्जित कार्ययोजना बनाउनुपर्नेमा उनले जोड दिए ।
सहायक रथी थापाले बाढीको सूचना प्राप्त हुनासाथ जंगी अड्डाले स्थानीय सैन्य इकाइलाई सतर्क गराएको जानकारी दिए । त्यसलगत्तै हवाई साधनमार्फत सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य सुरु गरिएको उनले बताए ।
सेना तत्कालीन खोज तथा उद्धारदेखि त्यसपछिका खोज, पुनरुत्थान, पुनःस्थापना र पुनर्निर्माणका काममा निरन्तर खटिएको पनि उनले समितिलाई जानकारी गराए । विपद्को जोखिम न्यूनीकरणदेखि प्रभावित क्षेत्रको पुनर्निर्माणसम्म सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सेनाको सुझाव छ ।
.gif)

.png)




