१५० ग्राम बढी खैरो हेरोइनसहित दुई पक्राउ, दुई राउण्ड हवाई फायर
झापा : झापाको झापा गाउँपालिका–१ सालमाराबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको छ।
भारतबाट दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो।
पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमारा निवासी ३६ वर्षीय नसिम अख्तर मिया र ३० वर्षीय सलमान मिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोद र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बीआर ३७ एए ५३८० र मे ७ प ३ नम्बरका मोटरसाइकलमा आएका उनीहरूलाई शंका लागेर जाँच गर्न खोज्दा भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले सीएफ ९८ पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूको खानतलासी गर्दा सेतो प्लास्टिकमा लुकाएर ल्याइएको १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्लास्टिकसहित उक्त पदार्थको तौल १६६ ग्राम ३४० मिलिग्राम रहेको छ।
बरामद लागूऔषध र दुवै मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
.gif)

.png)



