कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन्।
पार्टीको नयाँ केन्द्रीय कार्यसमितिलाई औपचारिक रूपमा पूर्णता दिने प्रक्रियाअन्तर्गत सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ हुन लागेको हो।
शपथ ग्रहण समारोह बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
कांग्रेस सभापति गगनकुमार थापाले भने यसअघि नै दशैँको फूलपातीका दिन असोज ३१ गते शपथ ग्रहण गरी पदभार सम्हालिसकेका छन्। आज सभापतिबाहेकका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिन लागेका हुन्।
निर्वाचन समितिले गत सोमबार सूचना जारी गर्दै १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको थियो।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो।
पार्टी विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ। निर्वाचित सदस्यबाहेक बाँकी ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ।
मनोनीत सदस्य चयन गर्न केन्द्रीय समिति बैठकको तयारी
शपथ ग्रहणसँगै कांग्रेसले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। बाँकी ६६ जना सदस्य मनोनीत गर्ने विषयमा छलफल गर्न आजै केन्द्रीय समिति बैठक बस्ने तयारी रहेको छ।
.gif)

.png)



