लहानमा पनि तनाव, प्रदर्शन अनियन्त्रित भएपछि हवाई फायर
लाहान : सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर सिरहाको लहान बजारमा तनाव उत्पन्न भएको छ । बिहीबार दिउँसो कप्तानगञ्ज घटनाको विरोधमा लहानमा प्रदर्शन भएपछि अवस्था तनावपूर्ण बनेको हो । प्रदर्शनका क्रममा झडपको अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरिएको हो ।
उनले लहान बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । अवस्था नियन्त्रणमा लिन लहान बजार क्षेत्रमा समेत कर्फ्यू लगाउने तयारी भइरहेको उनले बताए ।
यसअघि सिरहाको गोलबजार क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गोलबजार क्षेत्रमा कर्फ्यू लागू गरेको जनाएको छ ।
सुनसरीको कप्तानगञ्ज घटनापछि विभिन्न स्थानमा प्रदर्शन चर्किन थालेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।
.gif)

.png)

