यार्सागुम्बा संकलक दुई समूहबीच झडप, सशस्त्रले गर्यो हवाई फायर

डोल्पा । डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ । आज (शनिबार) दिउँसो ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको हो ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पूर्वी रूकुमको मैकोट गाउँपालिकाका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरुबीच झडप भएको हो । उनीहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको थियो । दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू रहेको डिएसपी थापाले जानकारी दिए ।
स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले दुई राउन्ड हवाइ फायर गरेको पनि डिएसपी थापाले जानकारी दिए । अहिले त्यहाँको अवस्था सामान्य रहेको उनले बताएका छन् ।