तस्कर र सशस्त्र प्रहरीबीच झडप, चार राउण्ड हवाई फायर


२०८२ श्रावण २१ बुधबार २२:१६ बजे

धनुषा । धनुषामा भारतबाट अवैध रूपमा सामान तस्करी गर्ने समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

तस्करीको सामान नियन्त्रणमा लिने क्रममा तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको हो । घटना जिल्लाको विदेह नगरपालिका–२, दुहबीस्थित आँप बगैंचामा बुधबार साँझ करिब सवा ८ बजे भएको हो ।

सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म महिनापुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमाण्डमा खटिएको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोजेको थियो ।

सोही क्रममा तस्कर र स्थानीय बासिन्दाहरूको समूह जम्मा भई सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि तनावको स्थिति सिर्जना भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआर राइफलबाट ४ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

झडपका क्रममा तस्करहरूले केही सामान लुकाउन सफल भएका छन् । प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल र केही किराना सामान बरामद गरेको छ । बरामद गरिएका सामान तथा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७