ललितपुरमा छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
ललितपुर : पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (कासाम–२०२६)’ बुधबारदेखि ललितपुरमा सुरु भएको छ।
कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा सुरु भएको सम्मेलन अक्टोबर २८ देखि ३१ सम्म सञ्चालन हुनेछ।
नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पस र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले गरेका हुन्। सम्मेलनमा स्वदेश तथा विदेशका अनुसन्धानकर्ताका १४३ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुँदैछन्।
सम्मेलनका संयोजक डा. हरिशरण अधिकारीका अनुसार उद्घाटनपछि ‘दिगो भविष्यका लागि स्मार्ट तथा बहुउपयोगी पदार्थ’ विषयमा विशेष सत्र सञ्चालन गरिएको छ।
सम्मेलनमा पाँचवटा प्रमुख सम्बोधन, ३५ वटा आमन्त्रित कार्यपत्र, छ वटा विषयगत व्याख्यान र २७ वटा अनुसन्धानमूलक प्रस्तुतिसहित ७३ वटा मौखिक प्रस्तुति हुनेछन्।
त्यस्तै, नवोदित वैज्ञानिकका ७० वटा पोस्टर शोधपत्र पनि प्रस्तुत गरिनेछ।
विदेशी वैज्ञानिक प्रा. डा. असा ब्राडम्यान, प्रा. डा. पिटर टिमासेभ र प्रा. डा. सातोरु सुकादासहित नेपाली वैज्ञानिक प्रा. डा. हेमराज पन्त, प्रा. डा. अमरप्रसाद यादव र डा. सुरेशकुमार ढुङ्गेलले विभिन्न अनुसन्धानका निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ।
सम्मेलनमा न्यानो तथा जैविक प्रविधि, हरित ऊर्जा, आधुनिक ऊर्जा भण्डारण प्रणाली, सिमुलेसन र जैविक पदार्थसम्बन्धी नवीन खोजमा छलफल हुनेछ।
युवा वैज्ञानिकको भूमिका, दिगो सहर निर्माणका प्रविधि तथा बाँसजस्ता स्थानीय स्रोतलाई आधुनिक विज्ञानसँग जोड्ने विषयमा तीनवटा गोलमेच छलफलसमेत आयोजना गरिने सहसंयोजक डा. शंकर खतिवडाले जानकारी दिए।
सम्मेलनमा उत्कृष्ट शोधपत्र तथा पोस्टर प्रस्तुतकर्तालाई पुरस्कृत गरिनेछ।
सम्मेलन समापनपछि सहभागी वैज्ञानिकलाई मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत वैज्ञानिक अध्ययन भ्रमण गराउने कार्यक्रम रहेको अर्का सहसंयोजक डा. केदार ढकालले बताए।
नेपालसहित भारत, अमेरिका, जापान, रुस, जर्मनी र अस्ट्रेलियाका वैज्ञानिक सहभागी सम्मेलनले नेपालमा न्यानो तथा जैविक प्रविधिसम्बन्धी अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्य विस्तारमा योगदान पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन्।
.gif)

.png)



