पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति : मनोवैज्ञानिक त्रास सिर्जना गर्न खोजियो
‘पूर्णतः गलत र अवाञ्छित’
काठमाडौं : नेपाली कांग्रेसले जनआस्था साप्ताहिकका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको, उनको कार्यालयमा खानतलासी गरिएको र अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले श्रेष्ठमाथि गरिएको व्यवहारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको हो।
राज्यका निकायले संवैधानिक विधि र स्थापित प्रक्रियालाई बेवास्ता गर्दै पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा खानतलासी गर्ने तथा अदालतमा हत्कडीसहित उपस्थित गराउने कार्य गलत र अवाञ्छित भएको कांग्रेसको निष्कर्ष छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले कसैले कानुनविपरीत काम गरेको भए प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाही हुनुलाई स्वाभाविक मानेको छ। तर त्यसका नाममा संवैधानिक प्रक्रिया मिचेर पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा खानतलासी गर्ने कार्य स्वीकार्य नहुने कांग्रेसको धारणा छ।
बैठकको निर्णयमा भनिएको छ, ‘संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर प्रहरी प्रशासन सोझै पत्रकार पक्राउ गर्ने, कार्यालय खानतलासी गर्ने र हत्कडी लगाउनेसम्मको तहमा उत्रनु पूर्णतः गलत र अवाञ्छित छ।’
कांग्रेसले श्रेष्ठमाथि भएको कारबाहीलाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रयासका रूपमा समेत लिएको छ। यस्तो कार्यले नागरिकको सुसूचित हुने मौलिक अधिकारसमेत प्रभावित हुने कांग्रेसको भनाइ छ।
कांग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू दृढ रहेको उल्लेख गर्दै सञ्चारमाध्यमसम्बन्धी कानुन तथा आचारसंहिताका आधारभूत मूल्य–मान्यताको पालना हुनुपर्नेमा जोड दिएको छ।
.gif)

.png)

