सांस्कृतिक र राष्ट्रिय महत्त्वका चलचित्र बनाउन अनुदान : २१ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं : सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले मौलिक, यथार्थपरक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि अनुदान दिन इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन आह्वान गरेको छ।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।
सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार कार्यक्रम सञ्चालन गर्न लागेको हो।
मन्त्रालयका अनुसार चलचित्र निर्माणका तीन चरणमा अनुदान उपलब्ध गराइनेछ। यसअन्तर्गत स्क्रिप्ट अर्थात् कथा तथा पटकथा विकास, प्रोडक्सन अर्थात् चलचित्र निर्माण र पोस्ट प्रोडक्सन अर्थात् निर्माणपछिका कामका लागि आवेदन दिन सकिनेछ।
कार्यक्रमको उद्देश्य सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतनासँग सम्बन्धित विषयवस्तुलाई चलचित्रमार्फत प्रस्तुत गर्नुका साथै मौलिक कथामा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्नु रहेको छ।
अनुदानका लागि आवेदन दिने व्यक्ति वा संस्थाले चलचित्रको नाम, अनुदान माग गरिएको विधा, कथाकार तथा पटकथाकारको नाम, चलचित्रको भाषा र स्क्रिप्ट लेखकको नाम तथा ठेगाना खुलाउनुपर्नेछ।
त्यस्तै, निर्माता, निर्देशक, छायाँकार, निर्माण संस्था वा कम्पनीको नाम र ठेगाना तथा निर्माणमा साझेदार संस्था भए त्यसको विवरणसमेत पेस गर्नुपर्नेछ।
चलचित्रमा रहने कलाकारको नाम र सङ्ख्या खुलाउनुका साथै लेखक, निर्माता, निर्देशक, छायाँकार र मुख्य कलाकारको बायोडाटा पनि समावेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
आवेदनसँगै चलचित्र निर्माणसम्बन्धी कार्ययोजना पेस गर्नुपर्नेछ। अनुदान वितरणको विस्तृत प्रक्रिया, मापदण्ड र अन्य सर्त मन्त्रालयले जारी गरेको कार्यविधिबमोजिम हुने सूचनामा उल्लेख छ।
सरकारले यस कार्यक्रमबाट स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषयलाई चलचित्रमा समेट्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
साथै, कथा तथा पटकथा विकासदेखि चलचित्र निर्माण र निर्माणपछिका कामसम्म आर्थिक सहयोग उपलब्ध गराउँदा मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणलाई प्रोत्साहन मिल्ने सरकारको विश्वास छ।
हेर्नूहोस् सूचनाः

.gif)

.png)



