विद्युत् दुर्घटनामा घाइते तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति दिइने


२०८३ असोज १६ शुक्रबार ०९:२२ बजे
फाइल फोटो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्च र क्षतिपूर्तिबापत १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते २७ वर्षीय तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका तामाङको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो । प्राधिकरणका अनुसार उनको उपचारमा ७ लाख १८ हजार ६७६ रुपैयाँ खर्च भएको थियो । 

त्यस्तै, अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ र पूर्ण अंगभंगबापत १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

यसअघि प्राधिकरणले तामाङलाई उपचारका लागि ५ लाख रुपैयाँ पेश्की उपलब्ध गराइसकेको थियो । मेडिकल बोर्डले उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सनलगायत कागजात अध्ययन गरी पेश्की कटाएर बाँकी उपचार खर्च तथा दुर्घटना क्षतिपूर्ति भुक्तानीका लागि सिफारिस गरेको थियो ।

प्राधिकरणको दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार दुई लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुने व्यवस्था छ । 

दुई लाख रुपैयाँभन्दा बढी उपचार खर्च भएमा प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्ने भएकाले तामाङको उपचारसम्बन्धी कागजात बोर्डले अध्ययन गरी सिफारिस गरेको हो ।

विनियमावलीअनुसार प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा विद्युत् दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७