मापसे गरी फेवातालमा डुङ्गा चलाउने पाँच पक्राउ
पोखराः कास्कीको फेवातालमा मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) गरी डुङ्गा चलाउने पाँच चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको विशेष चेकजाँचको क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
पोखरा महानगरपालिका ६, लेकसाइडस्थित फेवातालमा डुङ्गा चलाइरहेका ४५ चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये चार जना चालकले लागु औषध र एक जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको बस्नेतले जानकारी दिए।
“पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै तालमै पुगेर चालकहरूको लापसे र मापसे जाँच गरेका थियौं” प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “मापसे र लापसे गरेको भेटिएका चालकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाएका छौँ ।” यसो गर्नु कानुनी र मानवीय दुवै तवरले अपराध भएकाले प्रहरीले कारबाही अघि बढाएको उनको भनाइ छ ।
प्रहरीले फेवातालमा व्यवसाय गर्ने सबै डुङ्गा चालकलाई जिम्मेवार बन्न र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरेको छ । फेवातालका आठ वटा घाटमा डुङ्गा व्यवसायी समितिमा आबद्ध सात सय १२ डुङ्गा छन् ।
.gif)

.png)



