पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी : राजनीतिकदेखि आर्थिक क्षेत्रसम्म अन्योल
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा सामाजिक क्षेत्र अन्योल र असमञ्जसको अवस्थामा रहेको बताएका छन्।
बडादसैँको अवसरमा विजयादशमीको शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र देशभक्तिको भावना बलियो बनाउन सबै नेपालीलाई आग्रह गरेका छन्।
पूर्वराजा शाहले प्राकृतिक विपद्का कारण देशले ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै दुःख व्यक्त गरेका छन्।
भदौमा भोटेकोशीमा आएको भीषण बाढी तथा असोजमा भएको अविरल वर्षा र बुढीगण्डकीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको उनले बताएका छन्।
‘यस वर्षको बडादसैँमा पनि हाम्रा निम्ति सुखद रहने भनी दश गते भोटेकोशीमा परेको भीषण बाढीले विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा र यही असोजमा परेको अविरल वर्षा तथा देशको भूभागमा आएको बुढीगण्डकी बाढीका कारण जनधनको अपार क्षति हामीले भोग्नुपर्यो,’ उनको सन्देशमा भनिएको छ।
उनले विपद्पछि क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै उनले बाह्य सहयोग स्वीकार गर्दा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परामा आँच आउन नदिन पनि आग्रह गरेका छन्।
पूर्वराजा शाहले नेपालको पहिचान भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै साझा इतिहास, आस्था, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताएका छन्।
‘नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,’ उनले सन्देशमा भनेका छन्।
देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले राज्य प्रणाली सञ्चालनमा देखिएका कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सुशासन, निष्पक्षता, जनउत्तरदायी व्यवस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।
पूर्वराजा शाहले नेपाली समाजमा करुणा, आपसी सद्भाव र देशभक्तिको भावना अझ बलियो बनाउन आग्रह गरेका छन्।
विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर तथा कमजोर नभई सबल र सक्षम नेपाल निर्माण गर्ने सोच सबैमा विकास हुनुपर्ने उनले बताएका छन्।
बडादसैँले सत्य, न्याय र शक्तिको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
.gif)

.png)



