प्रधानमन्त्री बालेनको युट्युब च्यानलमा गुञ्जियो पूर्वराजा ज्ञानेन्द्रको गीत
गणतन्त्रका प्रधानमन्त्रीको च्यानलमा राजाको प्रशंसा
काठमाडौँः गणतन्त्र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आधिकारिक युट्युब च्यानलमा अचानक पूर्वराजा ज्ञानेन्द्र शाहको तारिफ गरिएको एउटा गीत फेला परेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। उक्त च्यानलमा यो सामग्री तीन महिना पहिल्यै राखिएको भए तापनि यसको व्यापक चर्चा र खोजतलास भने भर्खरै मात्र सुरु भएको हो।
‘बालेन’ नामको भेरिफाइड युट्युब च्यानलमा २० फेब्रुअरी २०२४ मा ‘शिरमाथि नेपाल आमा’ शीर्षकको यो गीत पोस्ट भएको देखिन्छ। गीतको मुख्य सार र शब्दहरू पूर्वराजाप्रति लक्षित छन्, जसमा भनिएको छ: 'शिरमाथि नेपाल आमालाई काँधमाथि ज्ञानेन्द्र राजालाई'
त्यस्तै, गीतको भित्री अंशमा 'हाम्रो राजा शान्तिकामी नेपालले पायो' जस्ता शब्दहरू प्रयोग गर्दै राजसंस्थाको गुनगान गाइएको छ। वर्तमान व्यवस्थाका कार्यकारी प्रमुखको आधिकारिक सामाजिक सञ्जालमा राजावादी भावधाराको गीत सार्वजनिक भएपछि अनलाइनमा अनेकौँ टीकाटिप्पणी भइरहेका छन्। धेरैजसो प्रयोगकर्ताले कमेन्ट बक्समा बालेनलाई राजतन्त्र फर्काउने अभियानको नेतृत्व गर्नसमेत आग्रह गरेका छन्।
तर, यो गीत च्यानलमा देखिँदैमा प्रधानमन्त्री बालेनको झुकाव राजसंस्थातर्फ नै भएको भनेर ठोकुवा गर्न मिल्ने आधार देखिँदैन। वास्तवमा यो गीत बालेन वा उनको व्यवस्थापन टोलीले आफैँ सिर्जना गरेर च्यानलमा हालेका होइनन्, बरु युट्युबको एउटा विशेष प्रणाली (अटो-जेनेरेसन) का कारण यो स्वतः त्यहाँ आइपुगेको हो। यद्यपि, च्यानलको एड्मिन प्यानलमा पहुँच भएकाले बालेनले चाहेको भए यसलाई जुनसुकै बेला पनि हटाउन सक्थे।
प्रधानमन्त्री बालेन्द्र शाह राजनीतिक व्यक्तित्व हुनुका साथै एक स्थापित र्यापर, सङ्गीतकार र रचनाकार पनि हुन्, जसका कारण युट्युबले उनको अकाउन्टलाई 'अफिसियल आर्टिस्ट च्यानल' को मान्यता दिएको छ। १३ लाखभन्दा बढी फलोअर्स र हालसम्म २५ वटा भिडिओ मात्र अपलोड भएको यो च्यानलमा उक्त गीत बालेन प्रधानमन्त्री पदमा निर्वाचित हुनुभन्दा अगाडि नै देखा परेको थियो।
युट्युबको प्राविधिक बनोट अनुसार, सन् २०२४/२०सफ१ तिर सङ्गीतकर्मीहरूका लागि ‘Releases’ (रिलिज) नामक नयाँ सुविधा थपिएको थियो। नेपालमा हालै मात्र सक्रिय देखिएको यो ट्याब सामान्य भ्लग वा भिडिओ च्यानलमा नभई आधिकारिक गायक वा सङ्गीतकारको अकाउन्टमा मात्र देखिन्छ। यस ट्याबमा आउने सामग्रीहरू स्पोटिफाइ वा एप्पल म्युजिक जस्तै गरी एल्बम कभर र अडियो ट्रयाकका रूपमा स्वतः आउने गर्छन्।
यो विधा पूर्ण रूपमा स्वचालित हुने भएकाले कुनै पनि प्रयोगकर्ताले आफैँ भिडिओ अपलोड गरेर वा ह्यासट्याग राखेर यहाँ सामग्री थप्न पाउँदैनन्। बालेनको टोलीले आफ्ना र्याप गीतहरू डिजिटल म्युजिक डिस्ट्रिब्युटरहरू मार्फत विश्वव्यापी बजारमा पठाउने गर्छन्। ती डिस्ट्रिब्युटरहरूले पठाएको अडियो जब युट्युब म्युजिकमा अपलोड हुन्छ, तब प्रणालीले ‘बालेन’ नामको मेटाडेटा म्याच हुनासाथ त्यसलाई उनको आधिकारिक च्यानलको ‘Releases’ सेक्सनमा तानिदिन्छ।
यही प्राविधिक छिद्रको फाइदा उठाउँदै अचेल एआई (कृत्रिम बौद्धिकता) प्रयोग गरेर बनाइएका फेक वा असम्बन्धित गीतहरूको विवरण (डिस्क्रिप्सन) मा 'बालेन' लाई प्राइमरी वा फिचर्ड आर्टिस्टको रूपमा ट्याग गरिदिने फेसन चलेको छ। यसरी ट्याग गरिएका अन्य अपरिचित व्यक्तिका गीतहरू पनि युट्युबको रोबोटिक प्रणालीले सिधै बालेनको च्यानलमा लगेर जोडिदिन्छ। यदि बालेनको टोलीले यो अनावश्यक सामग्री हटाउन चाहेमा YouTube Studio को 'Releases' ट्याबमा गएर 'रिक्वेस्ट रिमुभल' (हटाउने अनुरोध) विकल्प प्रयोग गर्नुपर्ने हुन्छ।
.gif)

.png)

