मध्यराति प्रहरी पुगे,चोलेन्द्रको प्रश्न,‘कसूर के हो ?’
पक्राउ पुर्जी मागेपछि चोलेन्द्र र प्रहरीबीच एक घण्टा सवाल–जवाफ
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई ‘सुरक्षा खतरा’ रहेको भन्दै प्रहरीले आइतबार मध्यराति बाँसबारीस्थित निवासबाट टेकूस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको छ। तर, आफूलाई नियन्त्रणमा लिनुको कानुनी आधार र कसूरबारे स्पष्ट जानकारी नदिइएको भन्दै राणाले प्रहरी टोलीसमक्ष करिब एक घण्टा प्रश्न उठाएका थिए।
चोलेन्द्रशमशेर राणालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इन्टेलिजेन्स शाखामा कार्यरत डीएसपी युवराज खतिवडाको नेतृत्वमा प्रहरी टोली खटाएको थियो। डीएसपी खतिवडाको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी राणाको बाँसबारीस्थित निवास पुगेका थिए। राति करिब १२ बजेदेखि प्रहरी र राणाबीच घरमै सवाल–जवाफ चलेको थियो। करिब दुई बजेतिर राणालाई प्रहरीले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो।
टोलीले राणालाई ‘घरमा बस्दा जेन जीबाट सुरक्षा खतरा रहेको’ र सुरक्षाका लागि आफूहरूसँग जानुपर्ने बताएको थियो। प्रहरीको उक्त भनाइप्रति राणाले तत्कालै प्रश्न उठाएका थिए। सुरक्षा खतरा नै भएको हो भने निवासमै सुरक्षा व्यवस्था कडा पार्नुपर्ने भन्दै उनले आफूलाई प्रहरी कार्यालय लैजानुपर्ने कारण सोधेका थिए।
राणाले आफूलाई नियन्त्रणमा लिने हो भने त्यसको कानुनी आधारसहित पक्राउपुर्जी देखाउन प्रहरीसँग माग गरेका थिए। प्रहरी टोली र राणाबीच यही विषयमा लामो समय सवाल–जवाफ चलेको बताइएको छ। प्रहरी टोलीले आफूलाई सुरक्षा दिन आएको बताए पनि राणाले भने सुरक्षा थ्रेट भए निवासमै सुरक्षा बढाउनुपर्ने भन्दै आफूलाई प्रहरी कार्यालय लैजानुको कारण र कानुनी आधारबारे प्रश्न गरेका थिए।
प्रहरीले राणामाथि सुरक्षा खतरा देखिनुको आधारका रूपमा गत वर्ष भदौ २३ र २४ गते तथा त्यसअघि जेन जी समूहसँग सम्बन्धित डिस्कर्डको सामूहिक छलफलमा उनको सुरक्षाको विषय उठेको जानकारी गराएको थियो। सोही आधारमा तत्काल राणालाई ल्याउन आदेश भएको प्रहरीको भनाइ थियो।
तर, राणा प्रहरीको उक्त तर्कमा सहमत भएनन्। ‘मलाई किन लैजान खोजिएको हो ? मेरो कसूर के हो ? पक्राउको आधार के हो ?’ भन्दै उनले प्रहरी टोलीसँग प्रश्न गरेका थिए।
‘सुरक्षाका लागि’ भन्दै आफूलाई लैजान खोजिए पनि व्यवहारमा त्यो पक्राउसरह भएको भन्दै राणाले पक्राउपुर्जी मागेको बताइएको छ। प्रहरी टोलीले उनलाई टेकू लैजाने तयारी गरेपछि अन्ततः राणा आफैं गाडी चलाएर निवासबाट बाहिरिएका थिए। त्यसपछि उनलाई राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याइएको हो।
.gif)

.png)


