बाढी–पहिरोले राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध


२०८३ असोज ४ आइतबार ०८:०९ बजे
फाइल फोटो

काठमाडौं : बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न राजमार्ग तथा सडक खण्डको यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले २०८३ असोज ४ गते बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केही खण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ।

रसुवाको मुख्य राजमार्गका सबै खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। प्रहरीका अनुसार भदौ १० गते बिहान १०ः३० बजेदेखि सडक बन्द रहेको हो। नुवाकोटमा पनि पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

त्यस्तै, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नदिइएको प्रहरीले जनाएको छ।

काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समय तोकिएको छ। प्रहरीका अनुसार १० टनसम्मका मालवाहक सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइने व्यवस्था छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिने जनाइएको छ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। त्यस्तै, बेनीघाट रोराङ गाउँपालिकाकै शितलबजारमा पहिरोका कारण सडक एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशअन्तर्गत संखुवासभाको मकालु गाउँपालिका–४ नेता भिरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। उक्त सडक असोज २ गते बिहान १०ः३० बजेदेखि बन्द रहेको प्रहरीको विवरणमा उल्लेख छ। प्रहरीले बाढी तथा पहिरोको जोखिम कायम रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७