प्राधिकरणका ४७ कर्मचारी बेपत्ता, परिवारलाई तत्काल ५० हजार राहत
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई तत्काल ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो।
प्राधिकरणअन्तर्गत मात्रै ४७ कर्मचारी तथा कामदार बेपत्ता छन्। बाढीबाट रसुवाका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। स्थायी कर्मचारीका परिवारलाई अर्को क्षतिपूर्तिको निर्णय नभएसम्म वा बढीमा ६ महिनासम्म सम्बन्धित कर्मचारीको सुरु तलब स्केलको ५० प्रतिशत रकम मासिक निर्वाहका रूपमा उपलब्ध गराउने निर्णयसमेत भएको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिए।
राहत रकम बेपत्ता कर्मचारी तथा कामदारको खोजी, सामाजिक संस्कार र परिवारको जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराउन लागिएको हो। बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवारको जिम्मेवारी सरकारको समेत भएको बताएका थिए।
.gif)

.png)

