विपत्तिमा चौधरी ग्रुप र नबिलको १५ करोडको प्याकेज : राहतदेखि ५०० अस्थायी घर निर्माणसम्म

राहतमा मात्र सीमित हुँदैनौँ, पुनर्स्थापनादेखि जनस्वास्थ्य तयारीसम्म साथ दिन्छौँ : निर्वाण चौधरी


२०८३ भदौ १३ शनिबार ०८:५६ बजे
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरी

काठमाडौं :  चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवासहित बाढी प्रभावित समुदायको उद्धार, राहत, अस्थायी आवास, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि करिब १५ करोड रुपैयाँको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्म सहयोग पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम अघि बढाइएको हो।

चौधरी फाउन्डेसन र नबिल बैंकले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार कार्यक्रम तत्कालीन राहतमा मात्र सीमित रहने छैन। प्रभावित परिवारलाई आपत्कालीन अवस्थाबाट सुरक्षित आवास, पुनर्स्थापना हुँदै दीर्घकालीन रूपमा विपद्–प्रतिरोधी समुदाय निर्माणतर्फ लैजाने गरी कार्यक्रम सञ्चालन गरिनेछ।

तत्काल राहतदेखि अस्थायी आवाससम्म

कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु उपलब्ध गराइँदैछ। भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा राहत पुर्‍याउन थालिएको र फाउन्डेसन तथा नबिल बैंकका कर्मचारीसमेत स्थानीयस्तरमा परिचालित भएको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय प्रशासनसँगको सहकार्यमा रसुवा र नुवाकोटमा दुईवटा व्यवस्थित राहत शिविर सञ्चालनमा ल्याइएको छ। ती शिविरमा प्रभावित समुदायका लागि दैनिक भोजनको व्यवस्था गरिएको छ।

त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। स्वास्थ्य शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी तथा सरसफाइका आवश्यक सुविधासमेत उपलब्ध गराइनेछ।

५०० अस्थायी आवास निर्माण गरिने

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ। यसका लागि नेपाल सरकार तथा स्थानीय तहसँग सहकार्य गरिने फाउन्डेसन र बैंकले जनाएका छन्। स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक आवास उपलब्ध गराउने लक्ष्य राखिएको छ।

राहत र आवाससँगै दीर्घकालीन जनस्वास्थ्य तयारीलाई समेत कार्यक्रमको प्राथमिकतामा राखिएको छ। चौधरी फाउन्डेसनले धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको छ। फाउन्डेसन र बैंकका अनुसार यसले भविष्यमा विपद्का बेला उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउनेछ।

‘राहतमा मात्र सीमित हुँदैनौँ’

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले विपद्को समयमा तत्कालीन प्राथमिकता प्रभावितको जीवन रक्षा गर्नु र उनीहरूलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु रहेको बताएका छन्।

उनले राहत वितरणमा मात्र आफ्नो जिम्मेवारी सीमित नरहने स्पष्ट पारे। 'हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन। चौधरी फाउन्डेसन र नबिल बैंकबीचको यस साझेदारीमार्फत उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौँ,' चौधरीले भनेका छन्।

कार्यक्रम कार्यान्वयनका क्रममा नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग निकट समन्वय गरिने फाउन्डेसन र बैंकले जनाएको छ। सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवार पहिचान गरी उनीहरूसम्म राहत र सहायता पारदर्शी, प्रभावकारी तथा व्यवस्थित रूपमा पुर्‍याउने उद्देश्य राखिएको छ।

चौधरी फाउन्डेसन र नबिल बैंकले राष्ट्रिय संकटका समयमा प्रभावित समुदायको साथमा उभिने प्रतिबद्धता दोहोर्‍याउँदै यो पहललाई सुरक्षित, स्वस्थ तथा विपद्–प्रतिरोधी समुदाय निर्माणतर्फको दीर्घकालीन प्रयासका रूपमा अघि बढाइएको जनाएको छ। प्रभावित समुदायको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले गरेको शीघ्र र सक्रिय पहलप्रति फाउन्डेसन र बैंकले आभारसमेत व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७