हिल्सा नाकाबाट फर्किँदा विदेशीलाई शुल्क नलाग्ने


२०८३ भदौ १२ शुक्रबार १८:५३ बजे

काठमाडौं : रसुवाको टिमुरे नाका हुँदै तिब्बत गएका विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल फर्किँदा लाग्ने पदयात्रा दस्तुर मिनाहा गरिएको छ। अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै कैलाश मानसरोवर तीर्थयात्राबाट हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकको निषेधित क्षेत्र पदयात्रा दस्तुर एक साताका लागि मिनाहा गरिएको जनाएको हो।

विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार भदौ ११ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको हो।  हुम्लाको हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्दा विदेशी नागरिकले निषेधित क्षेत्रको बाटो प्रयोग गर्नुपर्ने हुन्छ। यसबापत विदेशी नागरिकले अतिरिक्त पदयात्रा दस्तुर तिर्नुपर्ने व्यवस्था छ। तर, भोटेकोशी बाढीका कारण टिमुरे नाका बन्द भएपछि तिब्बतबाट फर्किने यात्रुको सहजताका लागि उक्त शुल्क अस्थायी रूपमा मिनाहा गरिएको हो।

बाढीका कारण टिमुरे नाकाबाट आवतजावत बन्द भएपछि तिब्बतबाट नेपाल फर्किने यात्रुका लागि हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका वैकल्पिक मार्गका रूपमा रहेका छन्। तीमध्ये हिल्सा नाका तुलनात्मक रूपमा सहज भएकाले तिब्बतबाट फर्किने यात्रुले उक्त मार्ग प्रयोग गर्ने गरेका छन्। अध्यागमन विभागले हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्दा विदेशी नागरिकको पदयात्रा अनुमतिका लागि आवश्यक ट्रेकिङ गाइडको बीमा तथा ट्रेकिङ गाइडसम्बन्धी व्यवस्था पनि अनिवार्य नगरिएको जनाएको छ।

बाढीका कारण टिमुरे नाका प्रयोग गर्न नसक्ने अवस्थामा रहेका विदेशी पर्यटक तथा कैलाश मानसरोवर तीर्थयात्रीलाई सहज रूपमा नेपाल फर्किने वातावरण बनाउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ। पदयात्राका क्रममा कुनै कठिनाइ वा समस्या आएमा अध्यागमन विभागमा सम्पर्क गर्नसमेत विभागले आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७