१३ प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

प्रस्तावित राजदूत अनुपयुक्त लागेमा आधार र प्रमाणसहित उजुरी दिन सकिने।


२०८३ असोज १० शनिबार १३:२४ बजे

काठमाडौं :  सरकारले विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूको नियुक्तिबारे कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ।

समितिले शुक्रबार सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतमध्ये कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संघीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने समितिले जनाएको छ। उजुरी दिँदा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले उजुरी दिनुपर्ने स्पष्ट आधार खुलाउन समितिले आग्रह गरेको छ।

प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरिने समितिले जनाएको छ। यसअघि असोज ८ गते बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेको हो।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरासँगै जर्मनीका लागि सरु जोशीलाई सिफारिस गरिएको छ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि मात्रै प्रस्तावित राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७