अल अहलीलाई हराउँदै बार्सिलोनाले उचाल्यो ६१औं जोआन गाम्पर ट्रफी

गाम्पर ट्रफीसँगै बार्सिलोनाको नयाँ सिजनको सुरुवात


२०८३ भदौ ४ बिहीबार ०८:०२ बजे

काठमाडौं : स्पेनिस च्याम्पियन बार्सिलोनाले इजिप्टको अल अहलीलाई २–१ ले पराजित गर्दै ६१औं जोआन गाम्पर ट्रफी जितेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले जित निकाल्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात गरेको हो।

यस संस्करणको गाम्पर ट्रफी विशेष रह्यो। अफ्रिकी तथा अरब क्लबका रूपमा अल अहलीले पहिलोपटक यो प्रतिष्ठित प्रि–सिजन प्रतियोगितामा सहभागिता जनाएको थियो। खचाखच भरिएको क्याम्प नोउमा भएको खेलले विश्व फुटबलका दुई फरक महादेशका सफल क्लबबीचको ऐतिहासिक भिडन्तको रूप लिएको थियो।

बार्सिलोनालाई अग्रता दिलाउने गोल १९ वर्षीय फरवार्ड हम्जा अब्देलकरिमले गरे। आफ्नै पूर्व क्लबविरुद्ध उनले उत्कृष्ट फिनिस गर्दै घरेलु समर्थकलाई उत्साहित बनाएका थिए। त्यसपछि राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई २–० को अग्रता दिलाए।

दोस्रो हाफमा अल अहलीका जिजोले गोल गर्दै अन्तर घटाए। बार्सिलोनामा यसै सिजन भित्रिएका एन्थनी गोर्डनले पेनाल्टी मिस गर्दा घरेलु टोली फेरि दुई गोलको अग्रता बनाउन भने चुक्यो। सन् १९६६ मा तत्कालीन अध्यक्ष एनरिक लाउडेटले सुरु गरेको जोआन गाम्पर ट्रफीको नाम बार्सिलोनाका संस्थापक, पूर्व खेलाडी तथा अध्यक्ष जोआन गाम्परको सम्मानमा राखिएको हो।

हरेक वर्ष ला लिगा सुरु हुनुअघि आयोजना हुने यो खेल बार्सिलोनाको पहिलो टोलीलाई घरेलु समर्थकमाझ औपचारिक रूपमा प्रस्तुत गर्ने परम्परागत कार्यक्रम पनि हो। त्यसैले गाम्पर ट्रफीलाई बार्सिलोनाको नयाँ सिजनको ‘कर्टेन–रेजर’ का रूपमा समेत चिनिन्छ। अफ्रिकाकै सफल क्लबमध्ये एक अल अहलीले पहिलोपटक गाम्पर ट्रफीमा सहभागिता जनाउँदै इतिहास रचे पनि प्रतिस्पर्धात्मक प्रदर्शनका बाबजुद बार्सिलोनाको घरेलु मैदानमा उपाधि उचाल्न सकेन।

बार्सिलोनाले अब यही जितको आत्मविश्वासका साथ नयाँ ला लिगा सिजनको तयारी पूरा गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७