टेम्केमैयुङमा ९ करोड ८८ लाख लागतमा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुने
भारत सरकारको ९५ प्रतिशत र गाउँपालिकाको ५ प्रतिशत साझेदारी
भोजपुर । टेम्केमैयुङ गाउँपालिका-९ मा करिब १० करोड रुपैयाँ लागतमा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। केन्द्र निर्माणका लागि नेपाल सरकार, भारत सरकार र टेम्केमैयुङ गाउँपालिकाबीच परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
परियोजनाको कुल लागत ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ ९० पैसा रहेको छ। कुल लागतको ९५ प्रतिशत भारत सरकार र ५ प्रतिशत टेम्केमैयुङ गाउँपालिकाले व्यहोर्नेछन्। यसअनुसार भारत सरकारको अनुदान करिब ९ करोड ३९ लाख २४ हजार रुपैयाँ र गाउँपालिकाको योगदान करिब ४९ लाख ४३ हजार रुपैयाँ हुनेछ।
परियोजना निर्माणको अवधि १५ महिना तोकिएको छ। निर्माणको जिम्मेवारी गाउँपालिकाले लिनेछ भने भारत सरकारबाट प्राप्त हुने अनुदान रकम कार्यप्रगतिका आधारमा छ किस्तामा निकासा हुने व्यवस्था गरिएको छ।
परियोजनाको प्रभावकारी कार्यान्वयन तथा अनुगमनका लागि नेपाल सरकार, भारतीय दूतावास, जिल्ला समन्वय समिति र गाउँपालिकाका प्रतिनिधिसहितको अनुगमन समिति गठन गरिनेछ।
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र टेम्केमैयुङ गाउँपालिकाबीच परियोजना कार्यान्वयनसम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा नेपाल सरकारका उपसचिव होमनाथ काफ्ले, भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनाश कुमार सिंह र टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले हस्ताक्षर गरेका छन्। समझदारीपत्रमा ११ अगस्ट २०२६ मा काठमाडौंमा हस्ताक्षर भएको हो।
कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण भएपछि स्थानीय उत्पादनको संकलन, बजारीकरण र बिक्रीलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, कृषकलाई सहज रूपमा बजारसँग जोड्दै उनीहरूको उत्पादनको उचित मूल्य प्राप्तिमा समेत परियोजनाले योगदान पुर्याउने विश्वास गरिएको छ।
यस परियोजनाबाट टेम्केमैयुङ गाउँपालिका मात्र नभई भोजपुर र छिमेकी खोटाङ जिल्लाका कृषक तथा कृषि क्षेत्रसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

