किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघ प्रहरी परिसर अगाडि धर्नामा


२०८३ श्रावण २८ बिहीबार ०९:३६ बजे

काठमाडौं :  पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ।

महासंघले धर्नामा सहभागी हुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नामा सहभागी हुन आग्रह गरेका हुन्।

नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट बिहानै प्रहरीले जनआस्थाको कार्यालयमा समेत खानतलासी गरेको छ। महासंघले श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासीप्रति आपत्ति जनाउँदै विरोध जनाएको छ।

श्रेष्ठको पक्राउपछि बुधबार राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो। महासंघले श्रेष्ठलाई बिनासर्त रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। खोजी पत्रकारितामा लामो समयदेखि सक्रिय श्रेष्ठ निर्भीक र खरो पत्रकारका रूपमा परिचित छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७