पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति
काठमाडौं : नेकपा (एमाले) ले जनआस्था साप्ताहिकका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उनको कार्यालय र निवासमा समेत खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले श्रेष्ठमाथि गरिएको व्यवहार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गरे। उनले लोकतन्त्रमा हरेक नागरिकलाई लेख्ने, बोल्ने र आफ्नो विचार व्यक्त गर्ने अधिकार रहेको भन्दै पत्रकारलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पालना गर्नुपर्ने बताए।
‘पत्रकारले लेख्न पाउने अधिकारबाट वञ्चित गरिएको छ। लोकतन्त्रमा यस्तो गर्न हुन्छ कि हुँदैन ? लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। सबै मानिसले लेख्ने र बोल्ने अधिकार राख्छन्,’ उनले भने।
सांसद राईका अनुसार साउन २७ गते पत्रकार श्रेष्ठलाई पक्राउ गरेपछि उनको घरमा खानतलासी गर्नुका साथै ल्यापटपसमेत जफत गरिएको छ। उनले कुनै पत्रकारलाई पक्राउ गर्नुअघि आवश्यक कानुनी प्रक्रिया र पक्राउ पुर्जीको व्यवस्था पालना गर्नुपर्ने बताए।
‘उहाँलाई पक्राउ गरिसकेपछि घरमा खानतलासी गरिएको छ, ल्यापटपसमेत जफत गरिएको छ। सरकारले यस्तो गर्न मिल्छ ? कुनै पत्रकारलाई पक्राउ गर्नका लागि पुर्जी चाहिँदैन ? उसले के गर्यो भन्ने कुरा समेत थाहा नपाइकन पक्राउ गर्न मिल्छ ?’ उनले प्रश्न गरे।
राईले सरकारका पछिल्ला गतिविधि अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोपसमेत लगाए। सरकारको प्राथमिक दायित्व नागरिकको जिउधनको सुरक्षा गर्नु भए पनि पछिल्ला घटनाले नागरिकमा उल्टै संशय र असुरक्षा बढाएको उनको भनाइ थियो। ‘सरकारले जनताको जिउधनको सुरक्षा गर्नुपर्ने हो। उल्टै पत्रकारलाई थुन्ने काम गर्नुहुँदैन,’ उनले भने।
.gif)

.png)

