कांग्रेस विद्रोही समूहको राष्ट्रिय भेला तयारी तीव्र, शशांकको नेतृत्वमा ५५१ सदस्यीय समिति
राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ। आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न शनिबार चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समिति तथा विभिन्न उपसमितिको घोषणा गरिएको हो।
प्रचार–प्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार मूल आयोजक समितिमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाका जिल्ला कार्यसमिति पदाधिकारी, महानगर तथा नगर सभापतिहरूलाई समेटिएको छ।
त्यस्तै, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि पदेन सदस्यका रूपमा समितिमा राखिएको छ। राष्ट्रिय भेलालाई नीतिगत तथा व्यवस्थापकीय रूपमा सफल बनाउन १६ वटा विषयगत समिति गठन गरिएको छ। ती समितिमध्ये राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन्।
यस्तै, भेलाको व्यवस्थापनका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापनलगायत समिति गठन गरिएको छ।
कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्रको वर्तमान अवस्था, संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे छलफल गर्न काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ।
.gif)

.png)

