कर्णालीको पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही
सुर्खेत : कर्णाली प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीका रूपमा मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता शाहीलाई शपथ खुवाएका हुन्।
मंगलबार नेकपा एमालेको समर्थनमा शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।
शाहीलाई नेकपाका १४ र सत्ता साझेदार एमालेका १० गरी २४ सांसदको समर्थन छ। यसअघि २०८० चैतमा नेकपाको समर्थनमा मुख्यमन्त्री बनेका यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त भएका हुन्।
कँडेलले सुरुमा नेकपा र पछि नेपाली कांग्रेससँगको गठबन्धनमा करिब दुई वर्ष सरकारको नेतृत्व गरेका थिए। तर आलोपालो नेतृत्वको सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेस गठबन्धनबाट बाहिरिएपछि कर्णालीमा सत्ता समीकरण फेरिएको थियो।
कांग्रेसका चार मन्त्रीले राजीनामा दिएपछि सुरु भएको सत्ता परिवर्तनको प्रक्रियामा नेकपाले कांग्रेससँग मिलेर कँडेलविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता गरेको थियो। तर अन्तिम समयमा सरकारको नेतृत्व पाउने सहमति भएपछि नेकपा अविश्वास प्रस्तावबाट पछि हटेको थियो।
मुगुबाट निर्वाचित शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
.gif)

.png)

