प्रधानमन्त्रीको अपिल: एकअर्कालाई प्रेम र सम्मान गरौं, उत्तेजित हुने वा गराउने काममा नलागौं

‘मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो’


२०८३ श्रावण १३ बुधबार ००:०४ बजे

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय दिलाइने, दोषीमाथि कानुनबमोजिम कारबाही गरिने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत राष्ट्रका नाममा सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई देशको एक नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट अत्यन्त दुःखी भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्रीले उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नहुन पनि अपिल गरेका छन् ।  भनेका छन्, 'फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।'

प्रधानमन्त्री शाहले घटनाबाट पीडित बनेका परिवारको पीडा आफूले महसुस गरेको उल्लेख गर्दै सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। साथै, यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णयहरू तत्काल गरिरहेको र घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने विश्वास दिलाएका छन्।

उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु हुनु कुनै पनि दृष्टिले सामान्य विषय नभएको स्पष्ट पार्दै यसबारे अनुसन्धान सुरु भइसकेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी कारबाही हुने बताएका छन्। घटनाको सुरुवातदेखि नै सरकारले सक्रियता देखाएको भए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गर्दै सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते तथा प्रभावित सबैलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने उल्लेख गरेका छन्। अनुसन्धान प्रक्रिया पूरा नहुँदासम्म आक्रोश, प्रतिशोध र उत्तेजनामा नलाग्न सबैसँग आग्रह गर्दै उनले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

प्रधानमन्त्री शाहले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति दिलाउनु रहेको बताएका छन्। उनले सबैलाई उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहँदै प्रेम, सम्मान र सद्भावका साथ समाजलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।

भनेका छन्, ‘मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।’ 
 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७