कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्चमा, देउवा पक्षले दियो पुनरावलोकन निवेदन


२०८३ श्रावण ७ बिहीबार १८:५७ बजे

काठमाडौं :  नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सर्वोच्च अदालत पुगेको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्ने सर्वोच्च अदालतको आदेश पुनरावलोकन गर्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले निवेदन दर्ता गराएको हो।

सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार बिहीबार देउवाको वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता भएको हो। यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको कार्यसमितिलाई वैधानिक मान्यता दिएको थियो।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा निर्वाचन आयोग, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको थियो।

अब सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलासले पुनरावलोकनको निवेदन सुनुवाइयोग्य छ वा छैन भन्ने विषयमा प्रारम्भिक निर्णय गर्नेछ। पुनरावलोकनको अनुमति दिएमा मुद्दाको सुनुवाइ पुनः अघि बढ्नेछ।

सर्वोच्च अदालतमा पुनरावलोकन स्वीकार गर्ने वा नगर्ने विषयमा न्यायाधीशहरूको विशेष इजलास महिनामा दुई पटक मात्र बस्ने व्यवस्था रहेको छ। त्यसैले यो निवेदनमाथि निर्णय कहिले हुने भन्ने टुंगो अझै लागिनसकेको सर्वोच्च अदालतले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७