जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो : गगन थापा
‘करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि ?’
काठमाडौँ : कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूमाथि भएको प्रहरी कुटपिट र गिरफ्तारीको घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले कडा आपत्ति जनाएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले राज्यको दमनकारी व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
सभापति थापाले अभियन्ताहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि भएको निर्मम कुटपिटलाई ‘अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय’ घटनाका रूपमा व्याख्या गरेका छन्।
‘कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ,’ सभापति थापाले लेखेका छन्, ‘करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि ? चेत होस्, लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।’
सभापति थापाले आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको बताएका छन् । भनेका छन्, ‘आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो। फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो । गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस् ।’
यसअघि, उक्त घटनामा गृहमन्त्रीकी स्वकीय सचिव ओजश्वी थापाको इशारामा प्रहरीले अभियन्ताहरूमाथि कुटपिट गरेको र सर्वोच्च अदालतमा सुकुम्वासीको पक्षमा बहस गरिरहेका अधिवक्ता माजिद अन्सारीलाई प्रतिशोध साँध्न नियन्त्रणमा लिएको भन्दै नेपाल जेनजी फ्रन्टले समेत विरोध जनाइसकेको छ।
प्रहरीले भने अभियन्ताहरूले हो-हल्ला गरेकाले नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ। तर, हिरासतमा रहेका अन्सारी घाइते अवस्थामा रहेको र उनको नाक, मुखबाट रगत बगिरहेको भिडियो सार्वजनिक भएसँगै घटनाले राष्ट्रिय रूपमा आलोचना खेपिरहेको छ। सभापति थापाले पक्राउ परेका सम्पूर्ण युवाहरूलाई अविलम्ब विनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।
.gif)

.png)

