सिनामङ्गल–बानेश्वर क्षेत्रबाट दुई मेट्रिक टन फोहर संकलन


२०८३ असार २७ शनिबार १२:२८ बजे

काठमाडौँ, २७ असार :  ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियान ६८७ औँ हप्तामा प्रवेश गरेको छ। शनिबार काठमाडौँ महानगरपालिका वडा नं. ९ र ३१ स्थित सिनामङ्गलदेखि बानेश्वर क्याम्पस अघिको वाग्मती नदी किनारमा सफाइ गरी करिब दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ।

अभियानकर्मी डा. माला खरेलका अनुसार संकलित फोहर महानगरपालिकाको वातावरण विभाग (टेकु) को गाडीमार्फत व्यवस्थापन गरिएको हो। सफाइका क्रममा भेटिएका कुहिने फोहरलाई भने नदी किनारमा रोपिएका बिरुवाका लागि मलका रूपमा प्रयोग गर्न माटोमुनि गाड्ने व्यवस्था मिलाइएको छ।

 महाअभियानमा जनप्रतिनिधि, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, स्थानीयवासी र अभियानकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सफाइ कार्यक्रमकै अवसर पारेर वाग्मती किनारमा लप्सी र एभोकाडोका बिरुवा रोपिएका छन्।

महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीले ल्याउनुभएका बिरुवाहरू रोपिएका हुन्। साथै, सफाइ अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मदिनको अवसरमा पनि वाग्मती किनारमा वृक्षरोपण गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

 विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको यो महाअभियानले प्रतिकूल परिस्थितिमा पनि आफ्नो गतिलाई रोकेको छैन। चर्को घाम, असिना–पानी, भूकम्पको कहर होस् वा कोरोना महामारीको कठिन समय— हरेक शनिबार बिहान दुई घण्टा नदी सफाइ गर्ने क्रम ११ वर्षदेखि निरन्तर जारी छ। चाडपर्व वा अन्य प्रतिकूलताका बाबजुद पनि अभियानकर्मीहरूको यो अठोटले वाग्मती सफाइको सन्देशलाई जीवित राखेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७