अब यामाल निर्णायक बन्ने समय: स्पेनिस टोलीका प्रशिक्षक
एजेन्सी युरो २०२४ को उपाधि जिताएको दुई वर्षपछि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्ते आफ्नो टोलीलाई फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्म पुर्याउन सफल भएका छन्। अब उनको लक्ष्य बेल्जियमलाई हराउँदै स्पेनलाई सेमिफाइनलमा पुर्याउनु र विश्वकप तथा युरो दुवै उपाधि एकैसाथ जित्ने इतिहास रचना गर्नु हो।
सन् २०२३ को जनवरीमा प्रशिक्षक नियुक्त भएयता डे ला फुएन्तेको टोलीले केवल तीन खेल मात्र गुमाएको छ। लगातार ३५ खेल अपराजित रहँदै स्पेन विश्व फुटबलको सबैभन्दा बलियो दाबेदारमध्ये एक बनेको छ।
रणनीतिभन्दा माथि टोली संस्कृति
डे ला फुएन्तेका अनुसार सफल टोलीको आधार केवल रणनीति होइन, अनुशासन, निस्वार्थ भावना र आपसी विश्वास हो। उनले भने, 'फुटबल राम्रो मानिसहरूले बनाउने टोलीगत खेल हो। ड्रेसिङ रुमको वातावरण बिगार्ने खेलाडीभन्दा टोलीका लागि त्याग गर्न सक्ने खेलाडी नै सफलताको आधार हुन्।'
स्पेनको उमेर समूहदेखि नै प्रशिक्षकको जिम्मेवारी सम्हालेका उनले त्यही संस्कृतिलाई सिनियर टोलीमा पनि निरन्तरता दिएका छन्।
स्पष्ट खेलशैली, अझ बलियो स्पेन
स्पेनको परम्परागत पासिङ फुटबलमा डे ला फुएन्तेले रक्षात्मक मजबुती, तीव्र ट्रान्जिसन र आक्रमणका थप विकल्प समावेश गरेका छन्। प्रतिद्वन्द्वी टोलीले स्पेनको शैली बुझ्न सके पनि मैदानमा त्यसलाई रोक्न भने निकै कठिन भएको उनको विश्वास छ।
पोर्चुगलविरुद्धको अन्तिम–१६ को खेलमा पनि उनले खेलाडीलाई उक्साहटमा नफस्न, धैर्य कायम राख्न र आफ्नै शैलीमा खेल्न निर्देशन दिएका थिए।
'अब यामाल निर्णायक बन्ने समय'
डे ला फुएन्तेका अनुसार दुई महिना चोटका कारण बाहिर रहेका युवा स्टार लामिन यामाल अहिले पुनः उत्कृष्ट लयमा फर्किरहेका छन्। उनले भने, 'हामीले यामाललाई प्रतियोगिताको यही चरणका लागि तयार पारेका थियौं। अब उनी निर्णायक खेलमा निर्णायक बन्ने समय आएको छ।' उनका अनुसार पोर्चुगलविरुद्ध यामालको प्रभाव केवल बलसहितको प्रदर्शनमा सीमित थिएन, बलबिनाको अथक मेहनत पनि उत्तिकै महत्वपूर्ण थियो।
व्यक्तिगतभन्दा टोली ठूलो
डे ला फुएन्ते व्यक्तिगत प्रतिभाभन्दा सामूहिक खेललाई प्राथमिकता दिन्छन्। उनले भने, 'सफलताको आधार राम्रो टोली हो। त्यसमा उत्कृष्ट व्यक्तिगत खेलाडी थपिए भने मात्र लगभग पूर्ण टोली तयार हुन्छ।' उनले मिकेल ओयार्जाबाललाई विश्वका उत्कृष्ट सेन्टर फरवार्डमध्ये एक भन्दै उनको योगदानले अपेक्षित सम्मान नपाएको पनि उल्लेख गरे।
निरन्तरतामा विश्वास
६५ वर्षीय डे ला फुएन्ते अझै पनि नियमित व्यायाम गर्छन्। अनुशासन र निरन्तरताले नै आफूलाई यहाँसम्म ल्याएको उनको विश्वास छ। उनले भने, 'मेरो जीवनशैली नै निरन्तरता हो। मैले कुनै लक्ष्य तय गरेपछि त्यसलाई पूरा नगरी छाड्दिनँ।' अब उनको सम्पूर्ण ध्यान बेल्जियमविरुद्धको क्वार्टरफाइनल जित्दै स्पेनलाई विश्वकपको अन्तिम चारमा पुर्याउने लक्ष्यमा केन्द्रित छ।
.gif)

.png)

