महिलामाथिको यौन दुर्व्यवहार अस्वीकार्य, दोषीलाई कानुनअनुसार कारबाही हुन्छ : गृहमन्त्री


२०८३ असार २२ सोमबार १८:५३ बजे

काठमाडौं । सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउँदै यौनजन्य दुर्व्यवहार गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक अधिकृत पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रक्षा मन्त्रालयका शिक्षा अधिकृत सुरेन्द्र भट्ट (५५) लाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। यस घटनापछि गृहमन्त्रीले पनि दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट गरेका छन्।

प्रहरी वृत्त सातदोबाटो, ललितपुरका अनुसार बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भएका भट्ट हाल ललितपुर महानगरपालिका–२, इमाडोलमा बस्दै आएका छन्। उनीमाथि इमाडोलस्थित सार्वजनिक स्थानमा एक महिलाप्रति अशोभनीय व्यवहार गर्दै गोप्य अंग देखाएको आरोप लागेको हो।

घटनापछि पीडित महिलाले आफूलाई भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान सुरु गरी आरोपितलाई पक्राउ गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ। हाल उनी प्रहरी वृत्त सातदोबाटोको हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच, गृहमन्त्रीले ऋतु खनालले सार्वजनिक गरेको भिडियोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोपितलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन्। उनले पीडितको साहसको प्रशंसा गर्दै कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार सभ्य समाजका लागि पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन्।

गृहमन्त्रीले पीडितले न्याय पाउन भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु आफैँमा चिन्ताजनक भएको उल्लेख गर्दै यस्ता घटनामा राज्य शून्य सहनशीलताको नीतिमा रहेको बताए। दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभ्याई कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ।

उनले प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यौन हिंसा वा दुर्व्यवहारमा परेका सबै पीडितलाई ढुक्क भएर आवाज उठाउन आग्रह गरेका छन्। घटना आफूमाथि घटेमा वा त्यस्तो घटना भएको जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन, र उजुरी दर्तामा कुनै असहजता वा अवरोध भए सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयमा समेत जानकारी गराउन उनले अनुरोध गरेका छन्।

गृहमन्त्रीले यौन दुर्व्यवहारसम्बन्धी उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने कुनै पनि प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट गर्दै यस्ता घटनामा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइने बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७