उपत्यकामा महिलाका लागि सुरक्षित ‘ब्लू बस’ : पहिलो चरणमा ८ वटा सञ्चालन गरिने
काठमाडौँ, १८ असार: आगामी साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालनमा आउने भएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको हो। पहिलो १०० दिनभित्र कुल २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार हाल बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय–सुझावका लागि पत्राचार गरेको छ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त हुनासाथ साउन १ गतेबाट सेवा सुरु हुनेछ।
सेवा सुरु हुँदा पहिलो चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई र चक्रपथ (रिङरोड) मा चार वटा बस सञ्चालन गरिनेछ। चक्रपथमा सञ्चालन हुनेमध्ये दुई वटा बस क्लकवाइज र दुई वटा एण्टिक्लकवाइज दिशामा चल्नेछन्।
.gif)

.png)

