सरकारले कार्यदल बनाएपछि बन्द चिया उद्योग खुले
झापा : भारतले चिया निर्यातमा खडा गरेको नीतिगत अवरोध र झन्झटिलो प्रक्रियाका कारण बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । सरकारले चिया क्षेत्रका समस्या समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरेर माग सम्बोधन गर्ने आश्वासन दिएपछि उद्योगीहरूले कारखाना खोल्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री सचिवालयले निर्यातमा देखिएको गाँठो फुकाउन विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित कार्यदल बनाएपछि बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू सञ्चालनमा आएका छन् । झापाका उद्योग खुलेसँगै पहाडी जिल्लाका अर्थोडक्स चिया उद्योगहरू पनि खुल्ने क्रममा रहेका छन् ।
गत वैशाख १८ गतेदेखि भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि निकासी प्रभावित भएको थियो । नयाँ नियमअनुसार प्रत्येक गाडीको प्रयोगशाला परीक्षण अनिवार्य गरिनु, रिपोर्ट आउन १५ दिन कुर्नुपर्नु र प्रति गाडी ११ हजार ५ सय भारु शुल्क तिर्नुपर्ने अव्यावहारिक सर्तका कारण उद्योगीहरूले असार १ र ४ गतेदेखि उद्योग बन्द गरेका थिए ।
यस अवरोधका कारण झण्डै १०० उद्योग ठप्प हुँदा बगानमा हरियो चियापत्ती हुर्किएर घाँस बन्ने अवस्था आएको थियो । जसले गर्दा दैनिक करिब २ करोड रुपैयाँको आर्थिक नोक्सानी हुनुका साथै १ लाखभन्दा बढी मजदुर र ३० हजार किसान प्रत्यक्ष मारमा परेका थिए ।
चिया निर्यातको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न गठित कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि मन्त्रालयका साथै भन्सार, खाद्य प्रविधि, नापतौल विभाग र चिया विकास बोर्डका उच्च अधिकारीहरू सहभागी छन् । उद्योग मन्त्रालयका उपसचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको यस कार्यदललाई दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
.gif)

.png)

