अधिग्रहणको आधा शताब्दीपछि पोखरा बसपार्कका लागि ‘साइट क्लियर’ प्रक्रिया अघि बढ्यो
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती व्यवस्थापन मुख्य चुनौती
कास्की, ९ असार : पोखरा महानगरपालिकाले सुविधासम्पन्न बसपार्क निर्माणका लागि पृथ्वीचोकस्थित प्रस्तावित क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ। विसं २०३० मा अधिग्रहण गरिएको जग्गामा आधा शताब्दी बितिसक्दा बल्ल बसपार्क निर्माणका लागि 'साइट क्लियर' गर्ने काम अघि बढेको हो। महानगरले बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरू हटाएर उक्त क्षेत्रमा सरसफाइ र सम्याउने कार्य पूरा गरेको छ।
महानगरले व्यापारिक संरचना हटाए पनि बसपार्क निर्माणका लागि मुख्य चुनौतीका रूपमा रहेको सुकुमवासी बस्ती भने अझै खाली हुन सकेको छैन। हाल उक्त बसपार्क क्षेत्रमा तीन वटा सुकुमवासी बस्तीमा ५७२ घरपरिवारले जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन्।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले सुकुमवासीहरूको उचित व्यवस्थापन नगरी बस्ती नहटाइने प्रतिबद्धता जनाएका छन्। प्रमुख आचार्यका अनुसार हाल बसोबास गरिरहेका व्यक्तिहरूको डकुमेन्ट भेरिफिकेसन र विवरण छानबिनको काम भइरहेको छ। केही व्यक्तिहरूले तीनपुस्ते विवरण र अन्य कागजात झुटो पेस गरेको पाइएकाले त्यस्ता व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिए।
प्रमुख आचार्यले बस्तीभित्र केही असम्बन्धित व्यक्तिहरू प्रवेश गरी गलत सूचना फैलाएर स्थानीयलाई भड्काउने काम गरिरहेको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरे। यसअघि बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा पोखरा उपत्यका नगर विकास समितिले पछि घडेरी वितरण र सट्टाभर्नाको निर्णय गरेको थियो। उक्त विवादास्पद निर्णय लगायतका विषयमा छानबिन गर्न महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ, जसको प्रतिवेदन भने आउन बाँकी नै छ।
यता, बसपार्क क्षेत्रमा बस्दै आएका सुकुमवासीहरू भने उचित विकल्प पाए बस्ती खाली गर्न तयार रहेको बताएका छन्। सुकुमवासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले आफूहरू विकासको बाधक नभएको बताउँदै महानगरले बस्ने ठाउँको सुनिश्चितता गरिदिए तत्कालै हट्न तयार रहेको जानकारी दिए। बसपार्क निर्माणको योजना लामो समयदेखि अलपत्र पर्दै आएको भन्दै उनले अब छिटो विकल्प खोजेर निर्माण कार्य अघि बढाउन माग गरे।
.gif)

.png)

