१३ देशका राजदूतका लागि ३ हजारको आवेदन

एकै व्यक्तिले दिए १० देशका लागि निवेदन


२०८३ जेठ २४ आइतबार १५:०३ बजे

काठमाडौँ, जेठ २२ :  नेपाली कूटनीतिक इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने प्रक्रियाअन्तर्गत विभिन्न १३ देशका लागि झन्डै ३ हजार आवेदन परेका छन् । परराष्ट्र मन्त्रालयले रिक्त रहेका देशहरूमा राजदूत नियुक्तिका लागि जेठ १४ गते आह्वान गरेको सूचनाअनुसार करिब तीन हजार आवेदकबाट उक्त संख्यामा आवेदन प्राप्त भएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार खुला प्रतिस्पर्धामा एकै व्यक्तिले आफूलाई उपयुक्त ठान्दै अधिकतम् १० वटा देशसम्मका लागि आवेदन दिएका छन् । मन्त्रालयले जेठ २२ गते बेलुकी ५ बजेसम्म आवेदन दिने अन्तिम समयसीमा तोकेको थियो, जसमा इच्छुक व्यक्ति स्वयंले दरखास्त दिनुका साथै अन्य व्यक्ति वा निकायले समेत योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको थियो ।

मन्त्रालयले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि आवेदन मागेको हो । अब प्राप्त भएका आवेदनहरूमध्ये रीत नपुगेका वा म्याद नाघी आएका फारमहरूलाई स्वतः हटाई बाँकी कूटनीतिक योग्यता र उपयुक्तताका आधारमा प्रारम्भिक सूची (सर्टलिस्ट) तयार गरिने मन्त्रालयले जनाएको छ । यसरी सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र आगामी थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ ।

राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले 'टर्म्स अफ रेफरेन्स (टीओआर)' तयार गरी १५ वटा न्यूनतम योग्यताहरू निर्धारण गरेको छ । जसअनुसार आवेदक कम्तिमा ३५ वर्षको नेपाली नागरिक हुनुपर्ने, स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने तथा अंग्रेजी भाषाको राम्रो ज्ञान भएको हुनुपर्नेछ । साथै, नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र भियना महासन्धिका बारेमा जानकार एवं उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।

मापदण्डअनुसार सरकारी सेवाबाट बर्खास्त भएका, विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास अनुमति पत्र  लिएका, र अदालतबाट भ्रष्टाचार वा नैतिक पतनको फौजदारी कसुरमा दोषी ठहरिएका व्यक्तिहरू यस पदका लागि अयोग्य मानिनेछन् । यसका साथै, नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा रहेका, विदेशी सहायता प्राप्त गैरसरकारी संस्थामा हाल कार्यरत रहेका तथा सम्बन्धित देशमा स्वार्थको द्वन्द्व भएका व्यक्तिहरूले पनि राजदूतका लागि आवेदन दिन नपाउने कडा व्यवस्था गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७