दिल्ली भ्रमणपछि उत्साहित रवि लामिछाने, विमानस्थलबाट दिए यी ७ सन्देश
‘सीमा समस्याको समाधान ढोल बजाएर हुँदैन’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार (जेठ २२ गते) स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र भाजपा अध्यक्ष नितिन नवीनलगायतका उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन्।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीयसचिव प्रदीप आचार्य थिए ।
सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा गएका थिए । आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतीय जनता पार्टी (भाजपा) का विदेश मामिला विभागका प्रमुख डा विजय चौथाइवालेले बिदाइ गरेका थिए । स्वादेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछाने निकै उत्साहित थिए ।
भारतमा भएको स्वागत : देशको सम्मान
रवि लामिछानेले भारत भ्रमणका क्रममा आफूलाई गरिएको स्वागत व्यक्तिगत नभई नेपाल राष्ट्रप्रतिको सम्मान भएको बताए। स्वागतलाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गर्दै उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता भ्रमण महत्त्वपूर्ण हुने बताए।
पार्टी टु पार्टी’ कूटनीतिमार्फत सम्बन्ध विस्तार
लामिछानेले भारतीय जनता पार्टीसँगको भेटघाटलाई दुई देशबीचको राजनीतिक तथा संस्थागत सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा व्याख्या गरे। विश्वकै ठूलो सदस्यता भएको पार्टीसँग अनुभव आदानप्रदान र सहकार्य बढाउन भ्रमण फलदायी भएको उनको दाबी छ।
सीमा विवादको ‘ढोल नबजाई’ भारतबाट फर्किएको सन्देश
सीमा विवादबारे प्रश्न उठ्दा उनले संवेदनशील राष्ट्रिय मुद्दाहरू नाराबाजी वा सडक आन्दोलनबाट भन्दा कूटनीतिक च्यानलमार्फत समाधान गर्नुपर्ने बताए। जिम्मेवार राजनीतिक दल, पत्रकार र अभियन्ताको भूमिकामा फरक हुने उनको भनाइ थियो। ‘सीमा समस्याको समाधान ढोल बजाएर हुँदैन’ भनेर बताएका सभापति लामिछाने भारत भ्रमणको क्रममा सीमा विवाद बारेमा बिषय उठान नगरेको स्पष्ट सन्देश दिए ।
'कुनै पनि विषय कूटनीतिक माध्यमबाट, कूटनीतिक च्यानलहरूलाई एक्टिभ गरेर गराइनुपर्ने कुराहरू हुन्छन् । तीनको आवाज एकदम हल्ला गरेजस्तो ढोल बजाएर हुँदैनन् । तर, ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू, गर्नुपर्ने ठाउँमा गर्नुपर्ने, समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ,' त्रिभवुन अन्तर्राष्ट्रिय विमानथलमा सभापति लामिछानेले पत्रकारहरूसँग भने ।
सरकार ढाल्ने खेलमा रास्वपा सहभागी हुँदैन
भारत भ्रमणलाई सरकार परिवर्तनसँग जोडेर गरिएको टिप्पणीप्रति प्रतिक्रिया दिँदै लामिछानेले रास्वपा अस्थिरताको पक्षमा नरहेको स्पष्ट पारे। जनतासँग गरेका प्रतिबद्धतामा अडिग रहेको उल्लेख गर्दै उनले सरकार ढाल्ने हल्लाको खण्डन गरे।
उनले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताए । ‘हामी अस्थिरताको पक्षमा छैनौं । हामी स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीलाई गरेको वाचाप्रति अडिग छौं । रहिरन्छौं,’ उनले भने ।
परराष्ट्र नीति कुनै पार्टीको होइन
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उनले परराष्ट्र सम्बन्ध र राष्ट्रिय हितका विषय दलगत एजेन्डा बन्न नहुने बताए। परराष्ट्र मन्त्रालयले दिएको आधिकारिक धारणालाई नै सरकारको आधिकारिक दृष्टिकोण मान्नुपर्ने उनको भनाइ थियो। ‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, परराष्ट्र नीतिजस्ता विषय त्यो पार्टी विशेष हुँदैन । देशको हुन्छ,’ लामिछानेले भने, ‘सरकारका प्रमुख प्रधानमन्त्री भएको हुनाले सरकारले त्यसको बारेमा परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्तिमार्फ जानकारी गराइसकेको छ । त्यो नै सरकारको धारणा हो ।’
केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सदनमा ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने अभिव्यक्ति सरकार र रास्वपाको आधिकारिक धारणा नभएको उनले स्पष्ट पारे । सभापति लामिछानेले थप स्पष्ट पार्दै अगाडि भने,'परराष्ट्र मामिलासम्बन्धी विषय, कुनै देशसँगको विषय त्यो पार्टीपिच्छेको हुँदैन । देशको हुन्छ । प्रधानमन्त्रीले आफूले बोलेको कुरा के हो, कसो भनेर परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ विज्ञप्ति जारी गरेर । त्यो नै सरकारको आधिकारिक धारणा हो । परराष्ट्रले आधिकारिक रूपमा हाम्रो भनाइ यो हो भनेपछि थप आधिकारिता खोज्न जरुरी छैन ।'
लोकप्रियताका लागि सजिलो हुने भए पनि कूटनीति चाहिँ फरक विषय रहेको उनको भनाइ छ । ‘लोकप्रियताका लागि सजिलो हुन्छ, तर समस्या समाधान गर्न त्यसको चरण हुन्छ । कूटनीतिका पनि चरण हुन्छ । त्यसका चरणमा सहि ठाउँमा त्यस्ता कुरा राख्न नेपालले हिजो पनि राख्थ्यो आज पनि राख्छ,’ उनले भने ।
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
भ्रमणपछि लामिछानेले नेपाल–भारत सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको दाबी गरे। विगतका अविश्वास र विवादभन्दा माथि उठेर आर्थिक, राजनीतिक तथा विकास साझेदारीका आधारमा सम्बन्धलाई पुनः परिभाषित गर्ने समझदारी बनेको उनको भनाइ छ।
विकास कूटनीतिमार्फत समृद्धिको साझा एजेन्डा
भारतीय प्रधानमन्त्रीसँगको भेटमा खेलकुद, सूचना प्रविधि, लगानी, व्यापार र पूर्वाधार विकासका विषयमा छलफल भएको जानकारी दिँदै लामिछानेले अबको कूटनीति विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताए। नेपाल–भारत सम्बन्धलाई घृणा र आरोपको राजनीति होइन, आर्थिक सहकार्यको आधारमा अघि बढाउनुपर्ने उनको सन्देश थियो।
‘प्रधानमन्त्री मोदीसँगको कुराकानीको हकमा, हाम्रा सबै छलफलहरू पारदर्शी र समृद्धिको एजेन्डामा केन्द्रित थिए। नेपाल र भारतको सम्बन्ध तब मात्र वास्तविक रूपमा गहिरो हुन्छ, जब हामी आर्थिक समृद्धिको बाटोमा सँगै हिँड्छौँ। हामीले खेलकुददेखि सूचना प्रविधिसम्मका क्षेत्रमा सहकार्य गर्ने ठूलो खाकाबारे कुरा गरेका छौँ,’ उनले भने, ‘विगतका नीतिगत कमजोरी वा ढिलासुस्तीको भारी नबोकी वर्तमान सरकार विकास कूटनीतिका माध्यमबाट अगाडि बढ्न तयार छ। हामी एकअर्काप्रति घृणा र दोषारोपणबाट होइन, आपसी सम्मान र सम्भावनाका पाटाहरू पहिल्याएर समृद्धिको यात्रामा अघि बढ्न प्रतिबद्ध छौँ।’
.gif)

.png)

