ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४४५ चालक कारबाहीमा, एकैदिन २२ लाख बढी राजस्व सङ्कलन
काठमाडौँ, २१ जेठ : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथिको कारबाहीबाट २४ घण्टामा मात्रै २२ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक नियम मिच्ने कुल दुई हजार ४४५ जना सवारीचालकहरू कारबाहीमा परेका छन्, जसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व दाखिला भएको छ। पछिल्लो समय उपत्यकामा सडक अनुशासन कायम गराउन ट्राफिक प्रहरीले जाँच र कारबाही प्रक्रियालाई थप तीव्र बनाएको छ।
प्रहरीको तथ्याङ्कअनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै अन्य विभिन्न सामान्य नियम पालना नगर्ने एक हजार ४८७ जना रहेका छन्। यसैगरी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने १८३ जना, एकतर्फी (वान-वे) सडकमा सवारी चलाउने १६६ जना र नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६० जना चालकहरू ट्राफिक फन्दामा परेका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा र यात्रीको सहजताका लागि यस्ता गम्भीर लापर्बाहीमाथि विशेष निगरानी राख्दै आएको छ।
त्यस्तै, सडक सङ्केत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १४१ जना, मादकपदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १२८ जना र निषेधित क्षेत्रमा जथाभाबी हर्न बजाउने १२३ जना चालकहरू पनि कारबाहीको दायरामा आएका छन्। यसबाहेक लेन अनुशासन पालना नगर्ने ४३ जना, सडक पेटी (फुटपाथ) मा सवारीसाधन ‘पार्किङ’ गर्ने १४ जना र अन्य नियम मिच्नेहरूलाई समेत ट्राफिक प्रहरीले कारबाही गरी सडक अनुशासन पालना गर्न सचेत गराएको छ।
.gif)

.png)

