अमेरिकाको मध्यस्थतामा इसराइल र लेबनन युद्धविराम गर्न सहमत
के यो सहमतिले इरान-अमेरिका युद्धको जोखिम टार्ला?
काठमाडौँ, २१ जेठ : इसराइल र लेबनन अमेरिकाको मध्यस्थतामा भएको पूर्ण युद्धविराम लागू गर्न सहमत भएका छन्। दक्षिणी लेबननमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह र इसराइली सेनाबीच भीषण लडाइँ भइरहेका बेला अमेरिकाको कूटनीतिक प्रयासमा यो सहमति जुटेको हो।
इरानले अमेरिकासँगको कुनै पनि सम्झौताका लागि इसराइल र लेबननबीचको लडाइँ अन्त्य हुनुपर्ने सर्त राख्दै आएको थियो। यो नयाँ सहमतिसँगै इरान र अमेरिकाबीच बढ्न सक्ने सम्भावित युद्धको जोखिम केही टरेको अनुमान गरिएको छ।
बुधबार अमेरिकासँग जारी गरिएको एक संयुक्त विज्ञप्तिअनुसार इसराइल र लेबनन शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएका हुन्। सम्झौताअनुसार हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इसराइलमाथिका आक्रमणहरू पूर्ण रूपमा बन्द गर्नुपर्नेछ।
अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'यो युद्धविराम हिजबुल्लाहका तर्फबाट हुने आक्रमण पूर्ण रूपमा बन्द हुने र दक्षिणी लिटानी क्षेत्रबाट हिजबुल्लाहका सबै कार्यकर्ताहरू हट्ने सर्तमा आधारित छ।'
सम्झौता कार्यान्वयनमा आशङ्का
यो सम्झौताले लेबननमा जारी लडाइँलाई पूर्ण रूपमा रोक्छ कि रोक्दैन भन्ने कुरा अझै अस्पष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम 'फाइनान्सियल टाइम्स'ले उल्लेख गरेको छ। यसअघि गत अप्रिलमा पनि अमेरिकाकै मध्यस्थतामा युद्धविरामको प्रयास भएको थियो, तर त्यसले लडाइँ रोक्न सकेको थिएन। हालसम्म यो घोषणाबारे हिजबुल्लाहले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन भने इसराइलले आफ्ना सैन्य कारबाहीहरू जारी नै राखेको छ।
गत फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि संयुक्त आक्रमण गरेपछि हिजबुल्लाहले इसराइलमा भीषण रकेट प्रहार गरेको थियो। त्यसकै जवाफमा इसराइली सेना मार्च महिनामा लेबननको भूमिमा प्रवेश गरेर आक्रमण सुरु गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई दबाब दिएपछि हिजबुल्लाह र इसराइलबीच गत मङ्गलबार आंशिक युद्धविरामको घोषणा भएको थियो। इसराइलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबननमा आक्रमण तीव्र पारेपछि राष्ट्रपति ट्रम्पले नेतन्याहूलाई फोन गरेर असन्तुष्टि व्यक्त गरेका थिए। ट्रम्पको तीव्र दबाबपछि इसराइलले राजधानी बेरूतमा गर्न लागेको ठुलो हमलाको योजना रोकेको थियो, जसका कारण पहिले आंशिक र अहिले पूर्ण युद्धविरामको सहमति सम्भव भएको हो।
.gif)

.png)

