सीमा विवादबारे भारत र चीन मात्र होइन, इङ्गल्यान्डसँग पनि कुरा गरेका छौँ: प्रधानमन्त्री
‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । उहाँहरू ब्रिटिश इन्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले नेपालको सीमा र विवादित भूभागको दीर्घकालीन समाधानका लागि भारत र चीनका साथै इङ्गल्यान्ड सरकारसँग पनि संवाद अघि बढाइएको जानकारी दिएका छन् ।
इतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिशकालीन इतिहाससँग जोडिएकाले यसमा इङ्गल्यान्डको पनि सरोकार हुनुपर्ने धारणा राखेका हुन्।
बैठकमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले नेपाली भूमि प्रयोग गरेर भारतले बाटो खोलेको विषयमा सरकारको कूटनीतिक कदम र धारणाबारे प्रश्न गरेकी थिइन्। सोही प्रश्नको सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने,‘हामीले भारत र चीनसँग मात्र नभएर इङ्गल्यान्ड सरकारसँग पनि संवाद गरेका छौँ। उहाँहरूले ब्रिटिश इन्डिया छाड्दै गर्दा सिर्जना भएको समस्या अहिलेसम्म बल्झिरहेकाले यस विषयमा इङ्गल्यान्डले पनि सरोकार राख्नुपर्छ र ऐतिहासिक तथ्यमा सहयोग गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता हो।’
लिपुलेक र सीमा क्षेत्रमा भारतले एकतर्फी बाटो खोलेको विषयमा नेपाल सरकारले नयाँ दिल्लीलाई 'डिप्लोमेटिक नोट' पठाइसकेको र त्यसको जवाफ समेत आइसकेको प्रधानमन्त्रीले संसद्लाई जानकारी दिए। भारतबाट प्राप्त जवाफ सकारात्मक रहेको उल्लेख गर्दै उनले भने, ‘भारत सरकारबाट आएको जवाफमा दुवै देशका इतिहासविद् र भूमिसम्बन्धी विज्ञहरू सम्मिलित गराई टेबल टकमार्फत (वार्ताको माध्यमबाट) यो सीमा समस्या समाधान गर्न तयार रहेको प्रतिबद्धता जनाइएको छ।’ सरकारले सीमा मामलामा कूटनीतिक र ऐतिहासिक दुवै मोर्चाबाट पहल गरिरहेको उनको भनाइ थियो।
.gif)

.png)

