नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
कुशल भुर्तेलको एकै ओभरमा ६ छक्का
काठमाडौँ : एसियन गेम्स छनोटअन्तर्गत सिंगापुरमा जारी प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चीनविरुद्ध ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आक्रामक ब्याटिङ गर्दै उक्त विशाल योगफल खडा गरेको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले मात्र ४३ बलमा १२९ रनको विस्फोटक र शतकीय इनिङ्स खेले। यस क्रममा उनले खेलको नवौँ ओभरमा चीनका बलरविरुद्ध लगातार प्रत्येक बलमा ६ छक्का प्रहार गर्दै कीर्तिमान रचे।
यो सँगै भुर्तेलले यसअघि नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा रहेको एकै ओभरमा ६ छक्का प्रहार गर्ने राष्ट्रिय रेकर्ड समेत बराबरी गरेका छन्। भुर्तेलबाहेक कुशल मल्लले ८५ रन र कप्तान रोहित पौडेलले ६९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै नेपाललाई विशाल स्कोरतर्फ डोर्याए।
महिला टोलीको खेल वर्षाले प्रभावित
उता, मलेसियामा जारी महिला टोलीको खेल भने वर्षाका कारण प्रभावित भएको छ। एसियन गेम्सको छनोट चरण पार गर्न आजको खेल जित्नैपर्ने दबाबमा रहेको नेपाली महिला टोलीले चीनविरुद्ध मैदान उत्रिँदा सुरुवात भने खराब रह्यो।
टस हारेर ब्याटिङमा आएको नेपालले २.२ ओभरमा मात्र ७ रन जोड्दा आफ्ना महत्वपूर्ण ३ विकेट गुमाइसकेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो। यसअघि सेमिफाइनलमा घरेलु टोली मलेसियासँग पराजित भएर एक खेल अगावै एसियन गेम्समा छनोट हुने अवसर गुमाएको नेपालले अब तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गरिरहेको हो।
दुई समूहमा विभाजन गरिएको यस छनोट प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुद (एसियन गेम्स) का लागि छनोट हुने प्रावधान छ। नेपाल रहेको समूहमा चीन र मलेसिया सहभागी छन्।
.gif)

.png)

