करोडौँको सरकारी लगानीमा बनेको ‘चिया परीक्षण केन्द्र’ मा निजी होटल

नार्क र नास्ट भन्छ : जनशक्ति दिन्छौँ भन्दाभन्दै होटललाई दिइयो


२०८३ जेठ १६ शनिबार १३:४० बजे

इलाम :  चिया रोप्न सुरु भएको करिब १६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसान उत्साहित थिए। केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने, उत्पादन बढाउन सहज हुने र गाउँमै चिया प्राविधिक उत्पादन हुने किसानको आशा थियो। कोसी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लगानीमा गुरुयोजनासहित इलामको सूर्योदय नगरपालिका–७, कन्याममा ‘टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ (चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र) निर्माण भएपछि किसानमा खुसीयाली छाएको थियो।

चिया बगानसँगै रहेको जग्गामा निर्मित यस केन्द्रको उद्घाटन गत २७ मंसिर २०८१ मा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए। भवन निर्माणमा मात्रै कुल १३ करोड ९० लाख रुपैयाँ खर्च भएको बताइएको छ, जसमा १० करोड १ लाख रुपैयाँ सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेश सरकारले उपलब्ध गराएको थियो भने बाँकी रकम स्थानीय पालिकाले व्यहोरेको थियो।

प्राविधिक अभावको बहाना, होटललाई जिम्मा
नगरपालिकाका कर्मचारीहरूका अनुसार केन्द्रमा चिया परीक्षणका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू प्रयोगशालामा जडान भइसकेका थिए। तर, करोडौँ सरकारी लगानीमा संरचना तयार भइसकेपछि नगरपालिकाले प्राविधिक जनशक्तिको अभाव देखाउँदै यसलाई निजी फर्मलाई सुम्पिएको छ।

केन्द्रलाई चिया प्रवर्द्धनमा लगाउनुको साटो वार्षिक (भ्याटबाहेक)  २५ लाख रुपैयाँ मात्रै बुझाउने गरी १० वर्षका लागि निजी फर्मलाई लिजमा दिने सम्झौता गरिएको छ। सूर्योदय नगरपालिकाका कार्यवाहक मेयर दुर्गाकुमार बरालले केन्द्र सञ्चालनका लागि 'उत्तम प्रगति कन्स्ट्रक्सन प्रालि, फिक्कल'सँग ठेक्का सम्झौता भइसकेको पुष्टि गरे।

नार्क र नास्ट भन्छ : जनशक्ति दिन्छौँ भन्दाभन्दै होटललाई दिइयो

नगरपालिकाले प्राविधिक अभावको दाबी गरे पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय र हात्तीसारस्थित प्राविधिक विज्ञहरूले भने पालिकाको कदमप्रति तीव्र असन्तुष्टि जनाएका छन् 'हामीले जनशक्ति उपलब्ध गराउने कुरा पटक–पटक भनेका थियौँ। तर, जनशक्ति पठाउने प्रक्रिया चलिरहेकै बेला पालिकाले हतार–हतार निजी क्षेत्रलाई लिजमा दिन सम्झौता गर्‍यो,' विज्ञहरूले नयाँ पेजसँग आक्रोश पोखे।

देशैभरिका पर्यटकको प्रमुख गन्तव्य कन्यामको सुन्दर र अनुकूल मौसममा बसेर चियाको अनुसन्धान गर्न पाउने भएपछि नार्क, नास्ट र मन्त्रालयका वरिष्ठ विज्ञहरू समेत निकै उत्साहित थिए। धेरै अनुसन्धानकर्ताहरू त्यहाँ जान तयार भइसकेका थिए। तर, नगरपालिका नेतृत्व 'व्यापारिक स्वार्थ' मा फसेर हतार-हतार सम्झौता गरेपछि विज्ञहरू निराश र आक्रोशित बनेका हुन्। मेसिनरी सामान र पूर्वाधार तयार छ, त्यसलाई सञ्चालन नगरी होटललाई जिम्मा दिनु दुर्भाग्यपूर्ण भएको विज्ञहरुको भनाई छ । 

लाखौँ लेनदेनको आरोप, अख्तियार जाने तयारी
स्थानीय बासिन्दाले भने उत्तम प्रगति कन्स्ट्रक्सनका संचालक उत्तम प्रधान र पालिकाका पदाधिकारीबीच लाखौँको आर्थिक लेनदेन भएर किसानका लागि बनेको केन्द्र होटललाई दिइएको दाबी गरेका छन्। सरकारी सम्पत्तिको यस्तो चरम दुरुपयोगविरुद्ध स्थानीय किसानहरू एकजुट भएका छन्। उनीहरूले किसानको समूह बनाएर यो अनियमितताबारे छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा उजुरी दिने तयारी गरिरहेको एक स्थानीयले जानकारी दिए।

एकातर्फ ल्याब सञ्चालन नहुँदा साना किसानहरू आफ्नो चियाको गुणस्तर मापन गर्नबाट बञ्चित छन् भने, अर्कोतर्फ त्यही अभावलाई ‘हतियार’ बनाएर करोडौँको आवासीय भवनलाई डिलक्स होटलका रूपमा सञ्चालन गर्ने प्रपञ्च रचिएको छ। गुणस्तर मापन गर्नबाट बञ्चित हुदा हरेक बर्ष इलामका किसानहरुले समस्या भोगीरहेको स्थानीयहरुको भनाई छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७