राजेश हमालदेखि रेखा थापासम्म एकै थलोमा

महानायक हमालको आग्रहः प्रशंसा मात्र होइन, तथ्यपरक आलोचना गर


२०८३ जेठ ८ शुक्रबार ११:४२ बजे

काठमाडौँः चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको विशेष अवसर पारेर रजत पत्रकारिता सम्मानसहित विभिन्न विधाका पुरस्कारहरू वितरण गरेको छ। बिहीबार साँझ राजधानीमा आयोजित एक भव्य समारोहबीच नेपाली रजतपट र रंग पत्रकारितामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरिएको हो।

सङ्घले यस वर्ष वितरण गरेका विभिन्न सम्मान तथा पुरस्कारका राशी र विधा यसप्रकार छन्:

  • राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान (राशी रु ५५,५५५): अनन्त वाग्ले

  • राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान: स्वर्गीय दिनेश सिटौला

  • राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान: जयन सुब्बा मानन्धर र कुवेरराज गिरी

  • राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (राशी रु ५१,०००): वैकुण्ठराज पराजुली

  • दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (राशी रु ५१,०००): सुरक्षा भट्टराई

  • राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान (राशी रु २५,०००): मिलन ढुङ्गाना

सङ्घका अध्यक्ष समीर बलामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महानायक राजेश हमाल, वरिष्ठ अभिनेत्रीहरू वसुन्धरा भुसाल, भुवन चन्द, करिश्मा मानन्धर, अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापालगायतले पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै महानायक राजेश हमालले आफूहरूले अभिनय यात्रा सुरु गर्दाका दिनहरू स्मरण गरे। उनले भने, 'हामीले कला क्षेत्रमा पाइला टेक्दा यो क्षेत्र पेसागत रूपमा स्थापित भइसकेको थिएन, तर पत्रकारिता क्षेत्रले यसलाई थप बलियो र स्थापित गराउन ठूलो भूमिका खेल्यो।' महानायक हमालले चलचित्र पत्रकारहरूले कलाकारको जहिल्यै प्रशंसा मात्रै गरुन् भन्ने आफूहरूको चाहना नरहेको स्पष्ट पार्दै कलम चलाउँदा आलोचना तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए।

यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले चलचित्र पत्रकारिता क्षेत्रसँग सधैँ सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै दुवै पक्ष मिलेर नेपाली चलचित्र उद्योगको श्रीवृद्धि र विकासमा लाग्नुपर्ने बताए।

कलम र कलाको यो साझा उत्सवमा चैत्यदेवी सिंह, अशोक शर्मा, बद्री पङ्गेनी, पल शाह, जितु नेपाल, सुरक्ष्या पन्त, नरेन्द्र महर्जन, उत्तम केसी, अरूणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, वसन्त थापालगायत चलचित्र क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७