काभा महिला भलिबलको ट्रफी सार्वजनिक

काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग


२०८३ बैशाख २८ सोमबार ०९:४६ बजे

काठमाडौँः नेपाल भलिबल संघले घरेलु मैदानमा आयोजना हुन लागेको ‘काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३’ को भव्य ट्रफी अनावरण गरेको छ। आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा संघले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै खेलको प्राविधिक र व्यवस्थापकीय पक्षबारे स्पष्ट पारेको हो।

नेपालमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढाउने उद्देश्यका साथ आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौँमा यो प्रतियोगिता सञ्चालन हुनेछ। यसपटक नेपालसहित दक्षिण र मध्य एसियाका बलिया आठ राष्ट्रहरू इरान, भारत, श्रीलंका, बङ्गलादेश, मालदिभ्स, कजाकिस्तान, किर्गिस्तान र आयोजक नेपाल बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।

यो प्रतियोगिता केवल जित र हारमा मात्र सीमित छैन। यो विश्व वरीयता सँग जोडिएकाले पनि नेपालका लागि विशेष महत्वको छ। नेपाली महिला टोलीले उत्कृष्ट नतिजा निकाल्न सकेमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको वरीयतामा उल्लेख्य सुधार आउने विश्वास संघले व्यक्त गरेको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसका लागि नेपाल सरकारले १ करोड र काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन्। बाँकी स्रोतका लागि संघले विभिन्न प्रायोजकहरूसँग सहकार्य गरिरहेको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार भने हिमालय स्पोट्र्सले लिएको छ। पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले अन्तर्राष्ट्रिय स्तरको यस खेल कुम्भलाई सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताउँदै प्रचार–प्रसारमा सक्रिय सहयोगको अपेक्षा गरेका छन्। अधिकांश तयारी सकिएको र बाँकी प्राविधिक कामहरू समयमै सम्पन्न गरी खेलाडी र दर्शकका लागि उत्कृष्ट वातावरण बनाउने प्रतिबद्धता समेत संघले जनाएको छ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७