बीमा कम्पनीहरुको अर्बौ रकम प्रयोग सेयर कारोबार गर्थे दीपक भट्ट


२०८३ बैशाख १० बिहीबार ०८:३२ बजे

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धानको लागि हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टले सेयर किन्न बीमा कम्पनीहरूको रकम प्रयोग गरन् गरेको तथ्य खुलेको छ । सेयर किनबेचका लागि भट्ट र उनको समूहले ४ अर्ब ७८ करोड रकम बीमा कम्पनीहरुको प्रयोग गरेको देखिएको छ । 

धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको प्रतिवेदन अनुसार भट्टले मात्रै ३ अर्ब ८० करोड रूपैयाँ बराबरको नेपाल रि–इन्स्योरेन्सको सेयर र नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्र किनेको देखिएको छ। भट्टले यो सेयर र ऋणपत्र किनबेच गर्न आफ्नो लगानी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनी र हिमालयन रिको पैसा प्रयोग गरेको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी उनले हिमालयन रि–इन्स्योरेन्सको लगानी रहेका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सबाट समेत कारोबार गरेको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ।

सुलभ अग्रवाल, सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचान लगायतसँग मिलेर भट्टले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत सेयर खरिदबिक्री गरेको तथ्य भेटिएको हो । 

उधारो पनि कारोबार

भट्टले ५ साउन २०८२ देखि १ चैत २०८२ सम्म विभिन्न ३ अर्ब ८० करोड ५३ लाखको सेयर खरिद र ९३ करोड ५ लाख ९२ हजारको बिक्री गरेका छन् । यस अवधिमा उक्त ब्रोकरले दीपक भट्टबाट कुनै पनि रकम लिएको छैन । हालसम्म पनि २ अर्ब ८९ करोड २० लाख ४८ हजार लिनुपर्ने देखिन्छ । ब्रोकरले कानुनविपरीत उधारो कारोबार गर्न दिएको पाइएको छ ।

अनुसन्धानले भट्टले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत सेयर खरिदबिक्री गरेको तथ्य भेटिएको छ । जसमा भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको ४.५ प्रतिशत स्वामित्व रहेको हिमालयन रिइन्स्योरेन्सबाट विभिन्न मितिमा ३ लाख ३८ हजार ४ सय ४१ कित्ता खरिद गरेको देखिन्छ ।

यो सेयर भट्टले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई ९० हजार कित्ता, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई ८० हजार कित्ता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई १५ हजार कित्ता र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीलाई १५ हजार ८ सय १४ कित्ता सेयर बिक्री गरेको देखिन्छ ।

यी सबै कम्पनीमा भट्टको पनि लगानी छ । यसअनुसार नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइको लाइफ इन्स्योरेन्समा भट्टको १५र१५ प्रतिशत सेयर लगानी छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्समा १५ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा २१.४३ प्रतिशत सेयर स्वामित्व छ । यसरी आफ्नो लगानी रहेको एउटा कम्पनीबाट आफ्नै लगानी रहेका अरू कम्पनीमा सेयर बिक्री गर्न पाइँदैन । 

 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७