कांग्रेसको महाधिवेशन रोक्न देउवा समूह अदालत जाने, आजै मुद्दा दायर गर्ने तयारी
कांग्रेस महाधिवेशनको विवाद अदालतमा पुग्दै, देउवा समूह सर्वोच्च जाने
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि देउवा समूह अदालत जाने तयारीमा जुटेको हो।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने नेता मीन विश्वकर्माले बताएका छन्। उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले हिजो कार्यतालिका सार्वजनिक गर्नुभएको छ। रोक्न माग गर्दै हामी अदालत जाने तयारीमा छौँ। साथीहरूले त्यसका लागि काम गरिराख्नुभएको छ।’
सम्भव भएसम्म आजै सर्वोच्च जाने तयारी रहेको विश्वकर्माले बताए। उनका अनुसार आज नभए एक–दुई दिनभित्र अदालत जाने सम्भावना छ। देउवा समूहको भेलाले गगन थापालाई सभापति स्वीकार नगर्ने र १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको थियो।
यसअघि कांग्रेस इतर पक्षका नेता डा. शशांक कोइरालाले महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाएका थिए। तर सभापति गगन थापाले भने महाधिवेशन निर्धारित मितिमा कुनै तलमाथि नहुने अडान लिँदै आएका छन्। असन्तुष्ट समूहलाई समेट्ने प्रयासस्वरूप उनले महाधिवेशन कार्यतालिका भने पछि सारेका थिए।
.gif)

.png)

