दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध ४२ करोड बिगोसहित बैंकिङ कसुरमा मुद्दा दर्ता
उनीहरुविरुद्ध बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुरमा पनि मुद्दा दायर गर्ने तयारी
काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त अनुसन्धानको घेरामा रहेका व्यवसायीहरूविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार दर्ता गरिएको मुद्दामा चर्चित व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ। यसै प्रकरणमा व्यवसायी शेखर गोल्छासमेत अनुसन्धानको घेरामा रहेको जनाइएको छ।
प्रतिवादीहरूविरुद्ध बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर जुन प्रयोजनका लागि लिइएको हो, सोही क्षेत्रमा खर्च नगरी रकम दुरुपयोग गरेको गम्भीर आरोप छ। सीआईबीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध कुल ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा तीन जनालाई मुख्य कसुरदार ठहर गरिएको छ भने शंकरलाल अग्रवालमाथि मुख्य कसुरदारलाई सहयोग पुर्याएको (मतियार बनेको) आरोप लगाइएको छ।
हाल प्रतिवादीमध्ये दीपक भट्ट र सुलभ अग्रवाल प्रहरी हिरासतमा रहेका छन् भने अन्य दुई जना फरार छन्। फरार रहेका प्रतिवादीहरूका हकमा अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को व्यवस्था अनुसार १० करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म बिगो कायम भएको मुद्दामा दोषी ठहर भएमा अभियुक्तहरूलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय, बिगो भराउने र बिगो बमोजिमकै जरिवाना हुने कानुनी प्रावधान छ।
यस बैंकिङ कसुरबाहेक उनीहरूविरुद्ध अन्य वित्तीय अपराधमा समेत मुद्दा चलाउने तयारी भइरहेको छ। प्रतिवादीहरूमाथि बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण र धितोपत्र (सेयर बजार) सम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ। यी विषयहरूमा पनि सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेकाले निकट भविष्यमै थप मुद्दाहरू दायर हुने स्रोतले जनाएको छ।
.gif)

.png)

