भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार : जसपा नेपालको आपत्ति
काठमाडौं : भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने सरकारी निर्णयप्रति जसपा नेपालले आपत्ति जनाएको छ।
शनिबार पार्टीका संरक्षक महन्थ ठाकुर ले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सीमावर्ती क्षेत्रका नागरिकमाथि अन्याय भएको बताएका छन्।सरकारले हाल भारतबाट ल्याइने दैनिक उपभोग्य वस्तुमा कडाइ गर्दै सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था लागू गरेको छ। यसअघि यस्ता वस्तुमा भन्सार लाग्ने गरेको थिएन।
जसपा नेपालका अनुसार तराई–मधेसका सीमावर्ती क्षेत्रका बासिन्दा दैनिक आवश्यकताका सामग्री भारतीय बजारबाट खरिद गर्दै आएका छन्। नेपालतर्फ सहज आपूर्ति नहुने र भारतमा सामान सस्तो पर्ने भएकाले यस्तो अभ्यास लामो समयदेखि चल्दै आएको पार्टीको भनाइ छ।
पार्टीले सरकारको यो निर्णय सीमामा आवतजावत गर्ने नागरिकलाई मात्र लक्षित गरिएको अदूरदर्शी कदम भएको टिप्पणी गरेको छ। साथै, निर्णय पुनर्विचार गरी पुरानै व्यवस्था कायम गर्न माग गरेको छ।
ठाकुरले यस्तो नीतिले नागरिकको दैनिक जीवनमा कठिनाइ ल्याउने, साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धमा समेत असर पर्ने बताएका छन्। उनले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर निर्णय सच्याउन सरकारसँग आग्रह गरेका छन्।
.gif)

.png)

