आज पहाडी र हिमाली क्षेत्रको केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : आज देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदलीको प्रभाव बढी रहने जनाइएको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यता मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसहित देशका केही भू–भागमा गर्मी बढ्ने सम्भावना रहेकोले तातो दिनको अनुभव हुन सक्ने जनाइएको छ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली कायम रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थानका साथै बागमती र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ। मौसममा हुने परिवर्तनका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
.gif)

.png)

