राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षविरुद्ध मुद्दा दायर
काठमाडौँ : अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद र चार अन्य माथि फिल्म निर्माणमा सरकारी रकम दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारको उजुरी अनुसार १५ लाख रुपैयाँ छुट्याएर ‘अन्धपथ’ फिल्म निर्माणमा बजेटको दुरुपयोग भएको ठहर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे २४ न्युज एवं नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल)विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध १२ लाख ७७ हजार २२५ रुपैयाँ बिगो कायम गरी जरिवाना र हिनामिनाको रकम असुल गर्न माग गरेको छ। कम्पनीका सञ्चालक लम्सालविरुद्ध पनि त्यत्ति नै बिगो कायम गरी सजाय माग गरिएको छ।
उक्त मुद्दा राजेश हमाल अभिनित र व्यक्तिगत निर्देशनमा निर्माण भइरहेको ‘अन्धपथ’ फिल्मसँग सम्बन्धित छ। अध्यक्ष साउद, उपाध्यक्ष, वडाध्यक्ष तथा कार्यसमिति सदस्यले यस फिल्मका लागि १५ लाख रुपैयाँ छुट्याएर सरकारी बजेट दुरुपयोग गरेको उजुरी अख्तियारमा परेको थियो ।
अख्तियारको ठहरअनुसार अध्यक्ष साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखापाल विमल साउद र लम्सालले मिलेमतो र बदनियतपूर्वक कार्य गरेको देखिएको छ। सार्वजनिक खरिदसम्बन्धी कानुनविपरीत पालिकाको बजेट दुरुपयोग गरी १८ भदौ २०८१ मा चलचित्र निर्माण सम्झौता गरिएको र १५ लाख ५ हजार रुपैयाँ सोझै खरिद गरिएको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले चलचित्र निर्माणका लागि पेश गरिएका बिलमा सत्यता पुष्टि हुने आधार नभएको, झुट्टा तथा नक्कली बिलको आधारमा सरकारी सम्पत्ति हिनामिना र दुरुपयोग गरिएको देखाएको छ। कार्यक्रममा बदनियतपूर्ण योजना र मिलेमतोका कारण बिगो रकम हिनामिना भएको तथ्य पनि अभियोगपत्रमा उल्लेख छ।
.gif)

.png)

