सिलिचोङ गाउँपालिकामा भलिबल र ट्रेल रेस प्रतियोगिता हुने
संखुवासभा । सिलिचोङ गाउँपालिकामा खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भलिबल र ट्रेल रेस प्रतियोगिता आयोजना गरिने भएको छ। ।
गाउँपालिका भौगोलिक रूपमा दुर्गम भए पनि प्राकृतिक स्रोतले भरिपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै समितिले विगत सात वर्षदेखि खेलकुद गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। यस वर्षदेखि प्रतियोगितालाई थप परिस्कृत गर्दै पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।
आगामी बैशाख १ देखि ६ गते सिलिचोङ- ३, ताम्कुमा अन्तरपालिका स्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा संखुवासभासहित छिमेकी जिल्लाका स्थानीय तहका टिमहरूको सहभागिता रहनेछ। प्रत्येक टिममा बाहिरी जिल्लाका बढीमा तीन खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख रुपैयाँ, द्वितीयले १ लाख रुपैयाँ, तृतीयले ३५ हजार रुपैयाँ र सान्त्वनाले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, ब्लकर र सेटरलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यसैगरी, ट्रेल रेस प्रतियोगितामा करिब ५० जना धावक सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र अन्य स्थान हासिल गर्ने धावकलाई क्रमशः नगद पुरस्कारसहित सम्मान गरिनेछ।
समितिले प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको बजेट अपुग हुने भएकाले विभिन्न संघ-संस्था तथा व्यक्तिहरूसँग सहयोगको अपेक्षा गरेको जनाएको छ। यस्ता कार्यक्रमले खेलकुदसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ। समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले कार्यक्रम सफल बनाउन सबै सरोकारवालासँग सहयोगको अपिल गरेका छन्। सिलिचोङ गाउँ खेलकुद विकास समितिले प्रेस विज्ञप्ति जारी गर्दै आगामी कार्यक्रमबारे जानकारी दिएको हो ।
.gif)

.png)

